‘म त सधैँभर आलु भएछु’ (भिडियाे)

हेमन्त विवश

काठमाडौं

डिल पाती पलाइ गयो ऋतु नारायण 
भित्ता प्याउली फुलिगयो ऋतु नारायण 
घाडा मौरी थन्कि गयो ऋतु नारायण

यतिखेर काठमाडौंको सडकमा यात्रा गर्दै गर्दा सम्झिन्छन्, २०२५ सालमा पहिलो पटक देखेको काठमाडौं। कलकल बग्ने निर्मल, कञ्चन बाग्मती, धान फल्ने फाँटहरू सबै–सबै सम्झिन्छन्, जुम्लाका ८२ वर्षीया तुङ्गानाथ उपाध्याय। उनी भन्छन्,‘नेपालको राजनीति जस्तै दुर्गन्धित भैसके छ काठमाडौं पनि।’

ऋतुराजको आगमनसँगै बारम्बार जुम्लाका डाँडाकाँडातिर पुगिरहेको छ तुङ्गानाथको मन पनि। सम्झनामा आइरहेकै हुन्छन्, विगतका दिनहरू र शिरानीमा राखिएका पंक्ति। हरकोही मान्छेलाई विगत त्यतिबेला निकै नै प्रिय लाग्छ, जब बुढेसकालले गाँज्दै जान्छ।

२०२५ सालमा सुर्खेत विमानस्थलबाट पहिलो पटक प्लेन चढेर नेपालगञ्ज आउनु पर्दा ३५ रुपैयाँ टिकेट तिरेकोदेखि प्लेन चढ्दा हात हल्लाइदिन बदाम बेचिरहेकी महिलालाई अनुरोध गरेका घटनाहरू घुमेकै छन्, स्मृतिपटलमा।

अन्तर मनको जलन बढाउने विगतको सिङ्गै पाटो छ, तुङ्गानाथको मनभित्र। संवेदनशील, भावुक मनका लागि सबै कुरा र प्रसङ्गले आफूसँग मेल नखादा नि दुख्छ मन। अरुका रोचक घटनाले पनि चिमोट्छ मनको पाटो। तुङ्गनाथका विगतका अनगिन्ति रात छोट्टी अर्थात् केटीहरूसँग डेउडा खेलेरै बिते। सुरुमा दाइ–साथीहरूको पछि लागेर गए त्यो माहोल हेर्न र गीतका सवालजवाफ सुन्न। पछि आफ्नै छिमलका साथी–भाइसँग पनि गए। उनी भन्छन्,‘२५/३० वर्षको उमेरसम्म पनि त्यति चेतना थिएन। वाल्यकालको त के नै कुरा भयो र। के खाउँला, के लगाउँला भन्ने थिएन। भविष्यका बारेमा कुनै योजना तय हुने कुरै भएन। रमाइलोमै बिते बाल्यकालका दिनहरू।’

त्यो थातथलो, त्यो सिंजाको छाप परेको मन कहाँ रम्दो हो काठमाडौंमा जति नै सुविधा पाए पनि। जहाँ जाँदा पनि उनलाई त्यही कर्णालीले बोलाउँछ। त्यही जुम्लाले बोलाउँछ। तिनै वनस्पतिले बोलाउँछन्, जसका पात पकाएर निगालाेको कलमको लागि मसी बनाउँथे। २०२१ सालमा विद्यालयमा मास्टर बनेर शिक्षण पेशा अपनाएका उनी लामो समयसम्म अनुसन्धानका क्षेत्रमा सक्रिए भए। कुनै बेला योगी नरहरी नाथले उनलाई कर्णाली क्षेत्रकै संयोजक बनाएका थिए। योगी नरहरी नाथको सल्लाह, सुझाव र निर्देशन बमोजिम पुरातात्विक, ऐतिहासिक र भाषा सम्बन्धी थुप्रै सामग्रीहरू संकलन गरे। २०२७ सालमा संस्कृतिविद् सत्यमोहन जोशीको समूहलाई सघाए। २०३१ सालदेखि २०३५ सालसम्म कोलम्बिया विश्वविद्यालयका प्रोफेसरको असिसटेन्ट बनेर मष्टा, देवी, देवता र झाक्री सम्बन्धी अध्ययन गरे। अध्ययन अनुसन्धानमा लामो समय व्यतित गरेका उपाध्यायले आफूले भने कुनै कृति निकालेनन्।

यसरी अरुकै लागि अध्ययनमा लागि परेका उनी वर्षौअघि तालिमका क्रममा एक जना प्रशिक्षकले भनेका कुरा सम्झिन्छन्,‘जीवनमा कहिल्यै आलु नबन्नू। मुला बनेर देखाउनू।’ आलु हरेक प्रकारको तरकारीमा र माछा मासुमा सजिलै सँग मिल्छ। अरुमै समाहित भइदिन्छ। सक्दैन आफ्नो रुप, आफ्नो स्वाद देखाउन। तर, मुला उनी जहाँ जोसँग मिले पनि आफ्नाे पन, आफ्नो स्वाद देखाएरै छोड्छ। उपाध्याय हाँस्दै सुनाउँछन्,‘म त सधैँभर मात्र आलु भएछु। कहिल्यै मुला बन्न सकिनँ छु।’

तुङ्गानाथका अनुसार कर्णालीका बारेमा खासै लेखिएको छैन्। प्रकाशित कृतिहरू पनि हल्का रुपका छन्। विस्तृत रुपले लेखिएका छैनन्। धेरै कुरा छ कर्णालीमा जुन बिस्तारै लोप हुँदै गइरहेको छ। कर्णालीका धेरै जसो ठाउँहरू विगतका तलाउ भएको कुरा बताउँछन्, उनी। तुङ्गानाथले जुम्ला बजारदेखि तलतिर र केही सिंजातिर अध्ययन अनुसन्धानका क्रममा पत्ता लगाएका हुन्, यो कुरा। उनी बताउँछन्,‘माथि बाटुला ढुङ्गा छन्। तल खेतीयोग्य जमिन छ। तल गएर नदी किनार छन्। यी सबै कुराले प्रमाणित गर्दछ कि कर्णाली क्षेत्रका र अझै जुम्लाका त धेरैजसो स्थलहरू विगतका तलाउ नै हुन्।’

जीवजन्तु र मानवको उत्पत्ति मानसरोवरबाट भएको कुरा बताए योगी नरहरि नाथले। मानवको उत्पत्ति भएको हुँदा मानसरोवर नाम रहन गएको हुनुपर्छ, भन्ने कुरा बताए नरहरि नाथले। त्यो मानसरोवर कर्णालीबाट नजिक छ। अझै भन्नुपर्दा हुम्लाको बाटो भएर मानसरोवर जानेको संख्या बढिरहेको छ, हिजोआज।

जिन्दगीका केही वर्ष राजनीतिक क्षेत्रमा समेत बिताएका तुङ्गानाथ चाहँदैनन् हिजोआज राजनीतिका बारेमा गफ्फिन। उनी सजिलैसँग भिनिदिन्छन्,‘अहिलेको राजनीति भन्नु लाज/सरम नभएको, इमानदारिता, स्वाभिमान र नैतिकता हराएको राजनीति हो। जहाँ इँटा,बिटा र ठिटाको वर्चस्व छ। हिर्काउनलाई इँटा हुनुपर्‍यो, साथमा ती हिर्काउने खालका गुण्डा हात हुनुपर्‍यो। अनि जाँडरक्सी खुवाउनदेखि मतदाता किन्नलाई पैसाका बिटा पनि हुनुपर्‍यो, यति भएपछि टिकट पाउनेदेखि चुनाव जित्नेसम्म सबै काम भइहाल्छ।’

योगी नरहरि नाथका कृति इतिहास भाग १, २ र ३ बाट प्रभावित उपाध्याय त्यतिकै प्रभावित छन्, सुर्यमणि अधिकारी, सत्यमोहन र पूर्ण प्रकाश नेपाल यात्रीका कृतिबाट पनि। यतिखेर उनी कर्णालीको लोकसंस्कृतिबारे आफूले तयार पारेको कृति प्रकाशन गर्ने तयारीमा छन्।

प्रकाशित मिति: : 2022-04-04 14:55:00

प्रतिकृया दिनुहोस्