प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा ‘पाइला के टेक्नुभयो’ यता नेपालको राजनीतिक बृतमा खेलाबेला नै सुरु भयो। क्रिया प्रतिक्रियाको बाढी नै आयो। मानौ, देउवाले भाजपाको कार्यालयमा पुगेर धेरै ठूलो गल्ति गर्यो। देशको छवि नै धुमिल भयो। मुलुकको स्वाभिमानमाथि नै चोट पुर्याएको भन्ने खालका प्रतिक्रिया व्यक्त गर्नमा नेता एवम् राजनीतिक विश्लेषकहरुबीच प्रतिस्पर्धा नै सुरु भएको जस्तो देखिन थाल्यो। विभिन्न सञ्चारमाध्यमका साथै समाजिक सञ्जालमा सो विषय दुई दिनदेखि भरिभराउनै देखिन्छ।
सत्ताधारी पार्टी भाजपाको अध्यक्ष जेपी नड्डाको निम्तो प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा पुग्नुभएको हो। छिमेकी राष्ट्रका सत्ताधारी दलका अध्यक्षको निम्तोलाई ठुकराउने कार्य कुटनीतिक दृष्टिकोणले उचित हुने थिएन्। भारतसँग सम्बन्धमा सुमधुर बनाउनमा सो मुख्यालयको भ्रमणले पक्कै केही न केही सकारात्मक भूमिका निर्वाह गर्नेछ। यस विषयलाई राजनीतिकरण गर्नुभन्दा यस भ्रमणलाई राष्ट्रको लागि उपलिब्धमूलक बनाउनका लागि सुझाव दिँदा उत्तम हुने थियो।
डा. प्रकाशचन्द लोहनीले प्रधानमन्त्री देउवासँग भाजपा कार्यालयमा पुगको सम्बन्धमा उहाँले प्रश्न गर्दै मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र आफ्नो मर्यादा आफैं राख्ने कि नराख्ने ? भनेर ट्वीट गर्नुभयो।
नेकपा (एमाले)का भीम रावलले त प्रधानमन्त्रीको हैसियतले हो कि ने.का. सभापतिको रुपमा ? भाजपाको कार्यालयमा कुन उद्देश्य र कुटनीतिक मर्यादा पूरा गर्न गइएको ? भनेर ट्वीटमार्फत प्रश्न गर्नुभयो।
तर, २०७५ साल असार ७ गते उहाँकै पार्टीका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली चीनको भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको अवलोकन तथा चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागमा प्रवचन दिनुभएको थियो। उतिखेर, केपी ओलीको सम्बन्धमा खासै चर्चाको विषय बनेनन्। सो समयमा उहाँहरुको ट्वीट देखिएन्। प्रधानमन्त्री देउवा देशको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। उहाँ भाजपाको मुख्यालयमा पुग्ने उद्देश्य निश्चित रुपमा राष्ट्रको हितसँग जोडिएको हुनुपर्छ। प्रोटोकल र सुरक्षाघेराको महत्व भए पनि कहिँलेकाहीँ लोकप्रिय नेताले सुरक्षा घेरा तोडेर जनतासँग मिल्न पुग्छन्।
यस कार्यमा नरेन्द्र मोदी अग्रपक्तिमा पर्नुहुन्छ। उहाँ देश र विदेशमा पनि सुरक्षा र प्रोटोकलको ख्याल नराखी जनताको भावनालाई सम्मान गर्दै अनेकौं पटक सुरक्षा घेरालाई तोडेका छन्।
विपी कोइराला प्रधानमन्त्री बनेपछि भारत भ्रमणको क्रममा समाजवादी नेता राममनोहर लोहियाको निवासमैं भेट्न पुग्नुभएको थियो। नेपालको राणाशासनको विरुद्ध सशस्त्र क्रान्तिमा लोहियाको सहयोग पुर्याउनु भएको थियो। लोहिया, विपीको निकटतम मित्रपनि हुनुहुन्थ्यो। यसअघि पनि यस्ता कार्य भएकाले निश्चित रुपमा प्रधानमन्त्री देउवाको कुनै पार्टीको मुख्यालय पुग्ने विषय नौंलो घटना होईन्।
सन् २०१५ को डिसेम्बरमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणबाट फर्कने क्रममा अफगानिस्तान हुँदै तत्कालीन पाकिस्तानका प्रधानमन्त्री सरिफ नवाजको घरमैं पुग्नुभएको थियो। त्यो कुनै निर्धारित कार्यक्रम थिएन्। भारत र पाकिस्तानको सम्बन्धलाई सुदृढगर्ने उद्देश्यसँग सो भ्रमण प्रेरित थियो। मोदीले आफ्नो प्राटोकलभन्दा बढी राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर नवाज सरिफको निवासमा पुगेको भनेर व्याख्या गरिएको थियो। उतिखेर,माेदीको उक्त कदमले अन्तर्राष्ट्रिय जगतमा व्यापक रुपमा चर्चा बटुलेको थियो। भारतीय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो भेटघाटलाई बडो सकारात्मक सन्देशको रुपमा प्रशारण गरेको थियो।
नेपालमा प्रोटोकलको विषय जहिले पनि विवादित हुने गर्छ। पार्टी वा अन्य कुनै सरकारी कार्यक्रममा पनि पदको आधारमा निर्धारित प्रोटोकलअनुरुप बस्ने र बोल्ने व्यवस्था मिलाइएको हुन्छ। कथङ्कदाचित कुर्सी र वक्ताको सूचीमा तलमाथि हुनासाथ प्रोटोकल मिचेको भनेर कहिँलेकाहीँ विवाद सिर्जना हुने गरिएको देखिएको छ। नेपालमा पदकै आधारमा प्रोटोकल निर्धारण गर्छ। अन्य मुलुकमा पनि पदअनुरुप प्रोटोकल निर्धारण गरिए पनि सम्मानित व्यक्तिहरुको प्रोटोकलको पनि ख्याल गरिन्छ। सोअनुरुप उच्च सम्मानपनि दिने गरिन्छ।
भारतलाई विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र राष्ट्रको रुपमा परिभाषित गरिन्छ। भारतमा प्रोटोकललाई व्यक्तिको क्षमतासँग पनि जोडिएको हुन्छ। सन् १९९४ मा भारतमा पिभी नरसिम्हा राव प्रधानमन्त्री र अटलविहारी वाजपेयी प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो। पाकिस्तानले संयुक्तराष्ट्र मानवअधिकार आयोगमा इस्लामी राष्ट्रको समूह ओआईसीको माध्यमबाट कश्मिर भइरहेको कथित मानवअधिकार उल्लघनसम्बन्धी प्रस्ताव राखेको थियो।
त्यो प्रस्ताव पारित भएको भए भारतविरुद्ध संयुक्त राष्ट्र सुरक्षा परिषदको कडा आर्थिक प्रतिबन्धको अवस्था पनि सिर्जना हुने सम्भावना थियो। त्यो बेलामा भारत सरकारले संयुक्त राष्ट्र सङ्घमा पठाइएका सरकारी प्रतिनिधिमण्डलको नेतृत्वको जिम्मेवारी प्रतिपक्षी दलका नेता अटलविहारी वाजपेयीलाई दिनुभएको थियो। उहाँले आफ्नो बुद्धिमताको उपयोग गरी सो प्रस्तावको पक्षमा रहेका राष्ट्रलाई समर्थन फिर्ता गराउनमा सफल हुनुभयो। सो समयमा प्रधानमन्त्री रावले राष्ट्रको हितलाई ध्यानमा राखेर विपक्षी दलका नेता वाजपेयीमाथि विश्वास गर्नुभयो। आफ्नो मुलुकभित्र राजनीतिक विवाद भए पनि विदेशीसमक्ष जहिलेपनि राष्ट्रिय हितको विषयमा एकजुट हुनुपर्ने र विपक्षी नेताको सम्मानमा चोट पुर्याउने खालको नहोस् भन्ने विषयमा सचेत रहनुपर्छ।
अटलविहारी वाजपेयीले बोल्ने बेलामा होस पुर्याएर बोल्नुहुन्थ्यो। सन् १९७७ मा भारतको विदेशमन्त्री हुँदा इङ्गलेडमा एकजना पत्रकारले भारतको राष्ट्रिय नेता को हुनुहुन्छ ? भनेर प्रश्न गर्दा वाजपेयीले प्रधानमन्त्री मोरारजी देसाईको नाम लिनुभयो। लगत्तै, पत्रकारले ‘अनि ! इन्दिरा गान्धी ?’ त्यसको जवाफमा वाजपेयीले बुद्धिमताको उपयोग गर्दै श्रीमती गान्धी अन्तर्राष्ट्रिय नेता हुनुहुन्छ। त्यहीँ इन्दिरा गान्धीले भारतमा सन् १९७५ मा आपातकाल लागू गरेपछि वाजपेयी लगायतलाई कारागारमा बन्द गरेको थियो।
सन् १९७७मा जनता पार्टीको सरकारले श्रीमती गान्धीसँग प्रतिशोध लिनका लागि आतुर थियो। त्यो बेलामा वाजपेयीले विदेशमा इन्दिरा गान्धीको छविलाई उच्च बनाउने कार्य गर्नुभयो। यस्तै, सोचको आवश्यकता छ, हाम्रो मुलुकको नेताहरुमा।
२०६३ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह दिल्ली विमानस्थलमैं पुगेर भव्य रुपमा स्वागत गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री विदेशी पाहुनाको स्वागतका लागि हत्तपत्त विमानस्थल पुग्दैनन्। सो बिरलै घटना भएपछि मनमोहन सिंहलाई पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो,“गिरिजाप्रसाद कोइराला दक्षिण एशियाको सवैभन्दा सिनियर नेता हुनुहुन्छ।”
तसर्थ, प्रोटोकलको विषयमा पनि ख्याल राख्नुपर्ने हुन्छ। राष्ट्रको प्रतिष्ठामा आँच आउन दिनु हुँदैन्। तर, राजनीतिमा व्यवहारिकताको पनि महत्व हुन्छ। व्यवहारिकता र बोल्नेशैलीले धेरै बढी सकारात्मक प्रभावपार्ने गर्छ। पश्चिमी मुलुक जाँदा प्रधानमन्त्रीसहितको टोली बजारमा सामान खरिद गर्न पुग्छन्। यी विषय त भ्रमणको सूचीमा समावेश त हुँदैन्। त्यो बेलामा प्रोटोकललगायतका कुरा उठ्ने गर्दैन्। दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्रीको टोलीका कतिपय व्यक्तिहरुले निश्चित रुपमा सामानहरु खरिद गर्नेछन्। तसर्थ, सानातिना विषयलाई राष्ट्रको गरिमासँग जोड्नु उचित हुँदैन्।
देउवाको दिल्ली भ्रमणको उपलब्धि
विगत ८ वर्षदेखि बन्द रहेको कुर्था–जनकपुर– जयनगर रेलसेवाको विधिवत रुपमा शनिबारदेखि सूचारु भएको छ। भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा हल्लाएर शुभारम्भ गर्नुभयो। त्यसपछि, रेल जयनगरबाट प्रस्थान गरी जनकपुर हुँदै कुर्था पुगेको थियो। न्यारोगेजमा सोही रुटमा चलिरहेको पुरानो रेल बन्द भएपछि भारत सरकारको सहयोगमा ब्रोडगेज लिक तयार भएको हो।
सो रुटमा नेपाल सरकारले दुई वटा डेमु रेल खरिद गरी सञ्चालनमा ल्याएको छ। यो रेल सेवा पुनः सूचारु भएपछि धार्मिक पर्यटकको व्यापक रुपमा बृद्धि हुने विश्वास गरिएको छ। भारतको जयनगरबाट सामानहरु खरिदगर्नमा व्यापारीहरुलाई सहज हुनेछ।
२६ वर्षअघि सम्झौंता भएको पञ्चेश्वर परियोजनालाई अघि बढाउने विषयमा नेपाल–भारतबीच सहमति भएको छ। यस सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले यो ‘गेमचेन्जर’ हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र भारतबीच उर्जा, इन्धन, रेलसेवा सञ्जालविस्तारलगायत पारस्परिक सहकार्यसम्बन्धी चारवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री देउवा र मोदीले शनिवार संयुक्त रुपमा चारवटा परियोजनाको पनि उद्घाटन गर्नुभयो। कुर्था– जयनगर यात्रुवाहक रेल सेवाका साथै सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको उद्घाटन गरिएको थियो। भारतको रु. ३ अर्ब २० करोड रुपियाँको सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सो सोलु कोरिडोर आयोजना निर्माण भएको हो। भुकम्पछि भारतीय सहयोगमा निर्मित १३० भन्दा बढी स्वास्थ्यचौंकीको उद्घाटन र नेपालमा प्रयोगको लागि ‘रुपे डिजिटल कार्ड’को पनि सार्वजनिक गर्नुभएको थियो।
‘अस्तु’ !