चौरपाटी (अछाम) गाउँपालिका–१ का कैलाश आउजी घर–परिवारको गह्रुँगो ‘सपना’ बोकेर हतारिँदै प्रवासतिर लागेका छन्। उनलाई आउँदो स्थानीय तह निर्वाचनको चिन्ता छ, तर वास्ता छैन। लामो गाउँ बसाइँपछि फेरि ‘सपनाको शहर’ मुम्बई छिरेका हुन्, कैलाश।
सुदूरपश्चिमको गौरीफन्टा नाका पार गरेर उनीजस्ता हजारौँ युवाहरू भारत छिर्ने गर्छन्। एकातिर स्थानीय तहको निर्वाचन, अर्कोतिर काम खोज्दै प्रवास जानुपर्ने बाध्यता छ।
जताततै समृद्धिको नारा एकोहोरो घन्किरहँदा हजारौँ युवाहरूले चुनावको वास्तै नगरी थातथलो छाडिरहेका छन्। उनीहरू गाउँ–समाजमा विकास भएको हेर्न चाहन्छन्। ‘भ्रष्टाचार अन्त्य होस्’ भनी कामना गर्छन्।
‘चारैतिर बेतिथि छ। जनप्रतिनिधिहरू परिवारवादमा रमाएका छन्। युवालाई रोजगारी छैन। गाउँ–गाउँमा भ्रष्टाचार छ,’ कैलाशले भने, ‘नेताहरू टोल–टोलमा आउँछन्। नमस्कार गर्छन्, भोट माग्छन्। जितेपछि चिन्दैनन्। हाम्ले पनि किन वास्ता गर्नु! दिक्क लागिसक्यो।’
स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेवारका आकांक्षीहरू टोल–टोलमा छिरिरहेका छन्। नेताहरूले सकेसम्म युवा प्रयोग गर्छन्। भोट माग्न हिँडाउँछन्। रोजगारी सिर्जना नगर्ने तर युवा प्रयोग गर्ने नेताहरूप्रति प्रवास जानेहरूको ठूलो गुनासो छ।
कैलाशसँगै पूर्वीचौकी (डोटी) गाउँपालिका–७ का झङ्कर साउद पनि जन्मभूमि छाड्न आतुर देखिन्थे। मतदान अधिकारको प्रयोग गर्न गाउँ फर्किने बेला उनी भने उल्टै प्रवास हिँडेका हुन्। रोजगारीका लागि भारत छिर्नु उनको आफ्नै बाध्यता छ। नेताहरूले स्थानीय चुनावमा मतदान गर्नेबेला मात्रै प्रयोग गर्ने गरेको झङ्कर बताउँछन्।
उनी भन्छन्, ‘चुनाव पनि आउँछ-जान्छ। गरिखानेहरूलाई के मतलब? भोट माग्दा मुसा हुन्छन्, जितेपछि बाघजस्तै गर्छन्। नेताको पछि–पछि हिँड्नेहरूलाई पो रमाइलो छ। हाम्रो के काम! हामीलाई बम्बैतिरै ठिक छ।’
कोरोना महामारीले सुनसान बनेको गौरीफन्टा क्षेत्रमा आजभोलि व्यापक चहलपहल छ। भारतबाट भोट हाल्न घर फर्कनेहरूको पनि उस्तै भीड छ। गौरिगंगा (कैलाली) नगरपालिका–७ का रामु ताडी पनि प्रवास (मुम्बई) जानेहरूकै वरिपरी देखिन्थे। साथीहरू भेटेपछि उनले पनि आसन्न स्थानीय तहको निर्वाचन रोजेनन्, प्रवास नै जाने निधाे गरे।
स्थानीय निर्वाचनमा हरेक पार्टीबाट युवाहरू जाग्नुपर्ने उनको भनाइ छ। ‘यी नेताहरूलाई नै भोट दिने? उनीहरूले गाउँ–घरमा के कति राम्रा काम गरेका छन्? जता हेर्यो उतै भ्रष्टाचार छ। अब पनि यिनीहरूलाई नै जिताउनुपर्ने ?,’ आक्रोषित हुँदै रामुले थपे, ‘युवाहरू नजागेसम्म केही हुनेवाला छैन।
दैनिक ज्याला मजदुरी गरी घरखर्च जुटाउने उनीहरूलाई के दशैं-तिहार, के चुनाव। वर्षेनि रोजगारीका लागि सुदूरपश्चिमका लाखौं युवा भारत जान बाध्य छन्। मतदाताहरूले विपन्न जनताको हितमा काम गर्ने असल नेतालाई छान्न पनि सुझाएका छन्।
चौरपाटी (अछाम) गाउँपालिकाका उजिर साउद, पदम साउद र हर्क आउजीले यसपटकको निर्वाचनमा भोट नहाल्ने बताएका छन्। ‘परिवार पाल्नुपर्छ। चुनाव पर्खेर पनि नहुने। बम्बै जानुपर्ने हाम्रो बाध्यता हो। तर नेताहरूले भोट माग्दा मात्रै चिन्छन्, अरूबेला चिन्दैनन्,’ उजिरले भने।
उनीहरूका प्रायः साथी भारतका विभिन्न शहरमा काम गरिरहेका छन्। कतिपय त गाउँ फर्केर खाडी मुलुकसम्म पुगे। आफू रोजगारीका लागि परदेश छिरेपनि योग्य र सक्षम युवा उम्मेदवारले जितेको हेर्न चाहन्छन्, पदम।
‘भोट हाल्यो आफ्नै हातको दुःख। राम्रो मान्छेले जित्ने होइनन्। सधैँ खराब नेताहरूले मात्रै जित्छन्। जोसँग पैसा छ, उसैले जित्छ,’ उनले भने, ‘यस्ता स्वार्थी नेताहरूलाई भोट दिएर के काम? आफ्नो पेशा गर्ने हो। किन टाउको दुखाउनु?’
सीमा काट्दै गरेका हर्क आउजी बाध्यताले प्रवास छिर्नुपरेको बताउँछन्। ‘आफ्नै गाउँमा काम पाए किन जान्थेँ बम्बै! भोटले भाेकाे पेट भरिँदैन। पेट ठूलो कि भोट? परिवार छ, सपना छ, ऋण छ। मन पनि गाउँमै, तर भारत जानुपर्ने बाध्यता छ,’ उनी भन्छन्।
पूर्वीचौकी (डोटी) गाउँपालिका–७ अमर साउदले अघिल्लो चुनावमा राम्रो काम गर्लान् भनेर भोट हालेको तर नेताहरूले निराश पारेकाे उनी बताउँछन्। अघिल्लो चुनावमा भोट हालेकोप्रति उनी पछुतो महसुस गरेका छन्।
‘जनप्रतिनिधिले भ्रष्टाचार मात्रै गरे। फेरि पनि यिनैलाई किन भोट हाल्नु? यहाँ बसेर भ्रष्टाचारी जन्माउनुभन्दा भारततिरै जानु राम्रो,’ उनले थपे, ‘न गाउँमा रोजगारी दिनसके, न राम्रो पढाइ छ। न त राम्रो अस्पताल नै बनाउन सके। जताततै आफ्ना मान्छे मात्रै भरेका छन्। नढाँटी भन्दाखेरी यिनीहरूलाई भोट गर्नु भनेको भ्रष्टाचार गर भनेजस्तै हो।’