यतिबेला नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कर्णालीका जिल्लाहरुको दौडमा छन्।
उनी सिम्रिक एअरको हेलिकप्टरमा बिहान नौ बजे दैलेखको दुल्लुमा दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर जुम्ला पुगेका छन्।
दुल्लुमा सम्बोधन गर्दै उनले दैलेख जनताको सुख, दुःखमा एमाले साथमा रहेको बताए।
'एमाले हिजो पनि विकास र समृद्धिको पक्षमा थियो,' उनले भने, 'अब पनि त्यसको नेतृत्वको काम गरेर कार्यान्वयनतर्फ लाग्नेछ।'
साथै उनले दुल्लु सभ्यताको बारेमा पनि आफू जानकार रहेको र ऐतिहासिक रहेको उनले उल्लेख गरे।
ओलीले भने, 'यसको विकासका लागि आफ्नो पालमा पहल गरेको थिएँ। तर अहिलेको सरकारले उदासिनता देखायो।' दुल्लुलाई स्मार्ट सिटी बनाउने विषयमा पनि उनले जानकारी गराएका थिए।
साथै वर्तमान गठबन्धनको विषयमा उनले नेताहरुका टाउका मिले पनि जनताका पक्षमा एमाले नै भएकाले एमाले नै पहिलो शक्ति केन्द्रका रुपमा स्थापित हुने बताए।
ओलीले दुल्लुमा कार्यकर्तालाई प्रवेश गराउने कार्यक्रम रहेपनि समय अभावका कारण जुम्लाको सिंजा उडेकाे बताइएकाे छ।
ओलीले सिंजा र कालिकोटमा चुनावी सभालाई सम्बोधन गर्दै अन्य दलहरुबाट एमाले रोजेकाहरुलाई पार्टीमा प्रवेश गराउने भएका छन्।
जुम्ला र कालिकोटमा पार्टी प्रवेश कार्यक्रम चुनावी सभा सकेर नेपालगन्ज हुँदै ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको एमाले स्राेतले बताएकाे छ।