समाजमा पछि पारिएका एकल महिलालाई नेतृत्वमा ल्याउनसकेमात्र उनीहरूको हकअधिकार सुनिश्चित हुने एक कार्यक्रममा सहभागीले जोड दिएका छन्।
कुर्भेको आर्थिक सहयोग तथा मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देहीको आयोजनामा बुधबार भएको नेपालमा सामाजिक सद्भावका लागि नागरिकको सहभागिता विषयक कार्यक्रममा सहभागीले एकल महिलाप्रति समाजमा रहेका नकारात्मक दृष्टिकोणलाई चिर्न सामाजिक, आर्थिक रूपमा सबल बनाउनुपर्ने सुझाव दिएका हुन्।
कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गर्दै महिलालाई आर्थिक, राजनीतिक, सामाजिक रूपमा सबल बनाउने कार्यक्रम गर्न प्रदेश सरकार तयार रहेको बताइन्।
पुरुषप्रधान समाजमा एकल महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन सके त्यसबाट नयाँ पुस्तामा सकारात्मक सन्देश जाने उनको तर्क छ। मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले १९ वडामा शाखा गठन गरेर सशक्तीकरणका कार्यक्रम अघि बढाएको छ।
सहभागीले पार्टी राजनीतिभन्दा माथि उठेर समुदायमा जनप्रतिनिधिको योगदान गर्नुपर्ने, व्यक्तिगत, सामाजिक परिवर्तन नभई सद्भावना सम्भव नहुने भन्दै यसमा जोड दिनुपर्ने सुझाव दिए।
सामाजिक रूपान्तरण गर्ने अभियानलाई जोड दिएर समुदायस्तरमा कार्यक्रम ल्याइएको डब्लुएचआरका कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले बताइन्। कुनै समय एकल महिलालाई रातो पहिरन लगाउन बन्देज लगाउने समाजमा पछिल्लोसमय धेरै परिवर्तन आइसकेको स्मरण गर्दै सामाजिक, आर्थिक सशक्तीकरणको महत्त्व बारे प्रकाश पारिन्।
लुम्बिनी प्रदेशमा ७३ हजार र रुपन्देही जिल्लामा १७ हजार एकल महिला रहेको दाबी गरिन्। नेपालमा पाँच लाख एकल महिला रहेको भन्दै अब आउने निर्वाचनमा आफूहरू निर्णायक मत भएको उनीहरूको भनाई छ।