जनयुद्ध स्मृति भ्यूटावर : वार्षिक २४ लाखमा ठेक्का दिने तयारी

रोल्पा नगरपालिकाको गौरवको योजना जनयुद्ध स्मृति भ्यूटावरलाई ठेक्कामा दिने तयारी भएको छ।

सोमबार मात्र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गरेको भ्यूटावरलाई नियमित सञ्चालनका लागि टेण्डरमार्फत वार्षिक २४ लाखमा ठेक्का दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

कुल ६ करोड १० लाख ६५ हजारको लगानीमा निर्माण भएको भ्यूटावरले यस क्षेत्रमा रहेको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले अपेक्षा गरेको छ।

भ्यूटावरलाई मासिक २ लाखका दरले ठेक्कामा कुनै कम्पनीलाई चलाउन दिने तयारी भइरहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए।

‘भ्यूटावरको रेखदेखसहित सञ्चालन र नगरको आम्दानीलाई दीगो बनाउन कुनै कम्पनीलाई दिने तयारी भइरहेको छ’, नगर प्रमुख केसीले भने ‘त्यसका लागि हामी केही दिनमै सूचना प्रकाशन गर्दैछौं।’

नगरपालिका आफैँले सञ्चालन गर्दा व्यवस्थापनमै धेरै रकम खर्च हुने देखिएपछि ठेक्कामा दिन लागिएको हो। ठेक्कामा दिँदा नगरपालिकालाई वार्षिक २४ लाख खुद आम्दानी हुने भएको छ भने अन्य नाफा वा घाटाकाे जिम्मा कम्पनीले बेहोर्ने छ।

पर्यटन प्रवर्द्धनको सम्भावना कति ?

निर्माण सुरु गर्दा नेपालकै अग्लो भनिएको भ्यूटावरको हाल जनयुद्ध स्मृति भ्यूटावर नामाकरण गरिएको छ। भ्यूटावरको उद्घाटन गर्दै प्रचण्डले भनेको जस्तै युद्ध पर्यटन, ढुङ्गे बगैचा र स्वर्गद्धारीलाई जोड्न सके यस क्षेत्रमा पर्यटक आउने सम्भावना देखिन्छ।

त्यसका लागि विशेष प्याकेज बनाएर यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिन आवश्यक छ। यहाँ बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकलाई नै बढी प्राथमिकता दिएर योजना बनाउनुपर्ने जानकारहरुको भनाई छ।

प्रकाशित मिति: : 2022-03-29 13:00:00

प्रतिकृया दिनुहोस्