केही समयअघि एकजना नायिकाले सुनाउनु भो, ‘मलाई त फेसबुक खोल्न पनि डर लाग्छ आजकाल । कमेन्टहरू पढेर डिप्रेसनमै गइसकेँ ।’ त्यसबेला उहाँ एउटा सामान्य विवादमा पर्नुभएको थियो । सामाजिक सञ्जालमा धेरैले आलोचनात्मक टिप्पणी गरिरहेका थिए । तर पनि मलाई उहाँको भनाइ अलि अतिरञ्जित लागेको थियो । मलाई लाग्थ्यो, फेसबुकमा कमेन्ट आउनु त सामान्य हो नि । के यसले कसैलाई डिप्रेसनमै पुर्याउँछ त ? त्यस्ता कमेन्टहरूलाई बेवास्ता गर्न सकिँदैन ?
तर, आजकाल म आफैँ भुक्तभोगी बनेकी छु । जहिलेबाट म शोषणमा परेकी नाबालिग गायिकाको कानुनी लडाइँमा जोडिएँ, सामाजिक सञ्जालमा अनेक खालका दुत्कार सहनु परेको छ । म नकारात्मक टीका–टिप्पणीको वास्ता नगरी आफ्नो बाटोमा अडिग भएर हिँड्ने प्रवृत्तिको व्यक्ति हुँ । तर, सीमाभन्दा बाहिर गएर तल्लो स्तरका शब्द प्रयोग गर्दै चरित्र हत्या गर्दा त्यसले पक्कै पनि विचलित तुल्याउँदो रहेछ । पछिल्लो केही दिनमा नै सयौँ अकाउन्ट ब्लक गरिसकेँ । तर, पनि नयाँ नयाँ अकाउन्टबाट विभिन्न लाञ्छनायुक्त प्रतिक्रिया आइरहेको छ । मलाई यस्ता कमेन्टविरुद्ध साइबर ब्युरोमा उजुरी गर्न सुझाव नआएको पनि होइन । तर, कतिलाई गरिसाध्य भनेर मौन बसेकी छु । यसको अर्थ सधैँ चुप बस्छु भन्ने पनि होइन ।