बादल मडारिँदा र चट्याङका आवाज सुन्दा अहिले पनि कर्मा तामाङको सातोपुत्लो उड्छ, जसरी २०७० सालअघि उनी आमाको काखमा भीषण पहिराको आवाजले अत्तालिएर टाँसिएका थिए । उनीजस्तै वर्षात्, बादल र पहिरोबाट त्रास भोग्ने अझै धेरै छन् ।
मिलेर बसेका दुई परिवारमा फाटो पर्दा कस्तो समस्या पर्दो हो ? बसिरहेको घर बगेर विस्थापित हुनुपर्दाको व्यथा कस्तो हुन्छ होला ? अझ त्यसबेला लालाबाला र बाबाआमाहरू गुमाएर एक्लै रुखको छहारीमा बाँच्नुपर्दाको कहरलाई संसारको कुन भाषाले व्यक्त गर्दो हो ?
बिरलै देखिने र भोगिने नमेटिने आँसुका आहालहरूको अव्यक्त ‘दर्द’ बोकेका कथासहितका अनुभवको गथासो बोकेर अझै पनि बाँचिरहेको छ, झार्लाङ, जसको आँगन प्रतिवर्ष खसिरहन्छ । बगिरहन्छ, करेसाबारी, घर, गल्ली गल्छेडाहरू । ढलेका पर्खाल, करेसा, गोठ, कटेरालाई मात्र होइन, घरबारी र त्यसैसँग बिलाएका आफन्तलाई पनि मुटु मिचेर बिर्सनुपर्ने नियतिका अनेक यथार्थ मिथकजस्तै बनेको छ, झार्लाङका लागि ।
एकै डाँडाको बस्तीलाई पहिरोले चिरेर दुई भागमा विभाजित गरेपछि भूगोलमा मात्र होइन, सामाजिकता र सम्बन्धमा पनि चिरा पर्दोरहेछ । झार्लाङमा त्यस्तै भएको छ । पहिरो वारी र पहिरो पारीबीच केहीहदसम्म वैमनस्यता देख्न पाइन्छ ।