जुम्लामा प्रचलित उखान छ, ‘चैत १२ गते नआएको जुम्ली मर्यो भनी जान्नु।’
बर्खे बाली भित्र्याएसँगै व्यापार तथा काममा हिँडेका जुम्लीहरु चैत १२ गतेसम्म घर फर्किन थाल्छन्।
मार्सी धानको स्थानीय क्यालेन्डरअनुसार हरेक वर्ष चैत महिनाको १२ गते मार्सीधानको बीउ भिजाउने चलन छ।
धान खेतीको लागि १२ गते अर्थात ’बारुवा’ पर्व विशेष मानिने सिंजा मोफ्लाका प्रेम कामीले बताए।
उनकाअनुसार चैत १२ गतेदेखि धान खेतीको क्यालेन्डर सुरु हुन्छ।
उक्त क्यालेन्डरअनुसार धान बताउने, सुकाउने, भिजाउने तथा व्याड राख्न जोत्ने, हिल्याउने र घरमै अंकुराएको बिउ छर्नुपर्ने हुन्छ।
उनले भने, ’खनजोतजस्ता काम पुरुषहरुले गर्ने भएकाले भारत तथा देशभरि घुम्ती व्यापार गर्न र काममा हिँडेको जुम्ली चैत १२ गते कसैगरी घर पुग्नुपर्ने हुन्छ।’
चैत १२ गते धान भिजाउने बेला घर नआएको जुम्ली मर्यो होला भन्ने अनुमान गरिने हुनाले यस्तो उखान भन्ने गरिएको संस्कृतिका सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।
‘सूचनाका अन्य माध्यम नभएको र सम्पर्क नहुने हुनाले चैत १२ गते घर नपुगेको जुम्ली मरेको आशंका गरिन्छ,’ उनले भने।
उनकाअनुसार पहिलेपहिले धान भिजाउने बेला घर नपुगेका सदस्यहरुको किरिया गर्ने चलन थियो।
तराईमा गर्मीका कारण औलो लाग्ने र चिसोमा बस्ने मासिन छिट्टै मर्ने सम्भावना हुने हुँदा पनि यस्तो गर्ने गरिन्थ्यो।
विश्वको अग्लो स्थानमा फल्ने मार्सीधान खेतीको सुरुवात बीउ भिजाएदेखि हुन्छ।
चैत १२ गते भिजाएको धान १६ गते उतार्ने, घरमा न्याने गरी राख्ने, बिहान–बेलुका पानी हाल्ने र अंकुराइसकेपछि चैत २० गते व्याडमा छर्ने गरिन्छ।
व्याड राखेको दिनलाई ‘विशुवा’ पर्वको रुपमा पनि मनाइन्छ। यो एक प्रकारको उत्सव नै हो।
त्यसैगरी वैशाख १ गते बेर्नामा हुर्किरहेको धानलाई पुजा गर्ने गरिन्छ।
धानको पुजा गर्नलाई स्थानीय भाषामा तागा लगाउने भनिन्छ। नयाँ वर्षको दिनलाई स्थानीयहरु तागे संक्रान्ति भन्छन्।