‘चुनाव जितेर देखाउनुपर्‍यो नि ! ठूला कुरा गर्ने’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्ध विरोधी नेताहरूलाई निर्वाचन जितेर देखाउन चुनौती दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकमा उनले ठूला कुरा नर्गन समेत नेताहरूलाई चेतावनी दिएका हुन्।

सभापति देउावाको भनाइ उद्धृत गर्दै कार्यसमिति बैठकमा सहभागी एक प्रदेश सभापतिले भने– प्रायः नेताहरू गठबन्धनविरूद्ध उभिएपछि सभापतिज्यू आक्रोषित हुनुभयो। उहाँले ‘चुनाव जितेर देखाउनुपर्‍यो नी! ठूला कुरा गर्ने’ सम्म भन्न भ्याउनुभयो। तरपनि हामीहरू गठबन्धनको पक्षमा छैनौँ।

यता प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन नलाद्ने बताएका छन्।  उनले सभापति देउवाले चुनावमा गठबन्धन लाद्न खाेजेकाे भन्दै चर्चा गरिएको र उक्त कुरा झुटो भएको बताएका हुन्। उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुग्ने बताएका छन्। 

आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरू आएको उनले बताएका छन्।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरु भएको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ। चुनावमा गठबन्धन गरेर जानुपर्ने र त्यसको विरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ। 

देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको बिरोध गरिरहेको छ। केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ। 

आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ। यस क्रममा अधिकांश नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे धारणा राखेका छन्। गठबन्धनको पक्षमा बोल्नहरुले पनि केन्द्रबाट नभइ स्थानीय स्तरबाट गठबन्धन गर्नु पर्ने धारणा राखेका छन्। 

बैठकमा धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए। उनले गठबन्धन गर्दै जाँदा कांग्रेसले कांग्रेमा भोट हाल्ने अवस्था कतिपय ठाउँमा नबन्ने बताउँदै पार्टी कमजोर हुने बताएका थिए। कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धन गर्न नहुने धारणा राखे।

प्रकाशित मिति: : 2022-03-25 18:57:00

प्रतिकृया दिनुहोस्