काठमाडौँ आइपुगे चिनियाँ विदेशमन्त्री वाङ

file photo
file photo

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमणमा काठमाडौँ आइपुगेका छन्।

उनी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार काठमाडौँ आइपुगेका हुन्।

छिमेक सम्बन्ध थप सुदृढ, सबल एवं प्रभावकारी तुल्याउने वर्तमान सरकारको नीतिअनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल आएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गरेका छन्।

अफगानिस्तान, पाकिस्तान र भारतको व्यस्ततापूर्ण भ्रमण पूरा गरी विशेष विमानबाट काठमाडौँ उत्रेका हुन्।

उनीहरूले शुक्रबार राजधानीको एउटा तारे होटलमा विश्राम गर्नेछन् भने शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन– नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गर्नेछन्।

वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्नेछन्।

शनिबार साँझ नै परराष्ट्र मन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्। आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नेछन्।

त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट सकेर चिनियाँ विदेशमन्त्री वाङ अपराह्न बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: : 2022-03-25 19:20:00

प्रतिकृया दिनुहोस्