नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा हेरफेरको कुरा चलिरहेको बताएका छन्।
पार्टी प्रशिक्षणको सिलसिलामा मधेश प्रदेशमा पुगेका प्रचण्डले मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन। सम्भावना चाहिँ छ।’
उनले केही मन्त्रालय हेरफेर हुने र केही नयाँ मन्त्री आउने सम्भावना रहेको बताए।
मन्त्रिमण्डल पुनर्गठन हुँदा माओवादीले आफ्नो हैसियतअनुसारको सिट पाउनुपर्ने प्रचण्डले दाबी गरे।
‘प्रधानमन्त्रीको पार्टीको महाधिवेशनसम्म सहयोग गरेको र माधवजीले भर्खर पार्टी बनेकोले सहयोग गर्नुपर्छ भनेकोले हामीले त्याग गरेका थियौँ’, प्रचण्डले भने, ‘अहिले चाहिँ हेरफेर हुने स्थिति आयो भने हैसियतअनुसार पाउनुपर्छ भनेका छौं, त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ।’