एनआरएनए चीनले सुरू गर्‍याे महिनावारी सम्बन्धि सचेतना कार्यक्रम (तस्विरहरू)

गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ‘महिनावारी स्वच्छता सचेतना’अभियान अन्तर्गत काठमाडौँका सामुदायिक विद्यालयमा कार्यक्रम सुरू गरेकाे छ। संघकी महिला संयाेजक पुण्यवती सुवेदीको संयाेजकत्वमा एनाआरएनए चीनले साेमबार उक्त कार्यक्रम सुरू गरेकाे हाे।

संघले पहिलो चरण अन्तर्गत तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई महिनावारी सचेतना तथा डाक्टरसँग अन्तरक्रिया कार्यक्रम गरेकाे थियाे।

कार्यक्रममा विशेषगरी छात्राहरुलाई लक्षित गर्दै महिनावारीको समयमा गनुपर्ने सरसफाई तथा खानपानको विषयमा जानकारी गराइएको थियो। साथै कार्यक्रममा महिनावारीको विषयमा छात्रहरुलाई पनि आफ्नो छात्रा साथीहरु तथा घरका महिलाहरूलाई कसरी सहयाेग गर्न सकिन्छ भन्ने विषय समेत सिकाइएकाे थियाे।

‘हामीले पहिलाे चरणमा काठमाडाैँका विद्यालयहरूमा यस्ताे कार्यक्रम ल्याएका हाैँ,’ संयाेजक सुवेदीले भनिन्,‘आगामी दिनहरूमा यस्ताे कार्यक्रम गाउँ–गाउँमा लगेर जानेछाैँ।’

त्यस्तै, संघले उक्त विद्यालयका विद्यार्थीहरूलाई स्यानीटरी प्याड समेत वितरण गरेकाे छ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष रोहित अग्रवालले अबका दिन कार्यक्रमलाई  प्रभावकारी बनाउन अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गर्ने बताए।

‘हामी सबैलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा जानकारी हुन आवश्यक छ। यस कार्यक्रमलाई  प्रभावकारी बनाउन हामी अन्य विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालन गर्नेछौँ।’

गैरआवासीय नेपाली संघ (चीन) संघका पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, विद्यार्थीलगायत सहभागीत रहेकाे कार्यक्रमकाे सञ्चालन एनआरएनए चीनकी महिला संयाेजक पुण्यवती सुवेदीले गरेकी थिइन्।

कार्यक्रममा समितिका अध्यक्ष रोहित अग्रवाल, आइसीसीकाका प्रतिनिधि प्रदीप न्यौपाने, उपाध्यक्ष निर्मल चौलागाई, सचिव राजकुमार खरेल, सल्लाहाकार आर.के खड्का, डिलबहादुर कठायत, सदस्यहरु युवराज थापा, आर. के प्रधान, विजय पराजुली, चीनमा रहेर व्यापार गर्ने विवेक काेइरालालगायतकाे सहभागीता रहेकाे थियाे।

त्यस्तै विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र ज्ञवाली सहप्रध्यानध्यापक राधिका सुवेदी, वीर अस्पतालका डा.सरु श्रेष्ठ, जास्मिन श्रेष्ठसँगै कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे।

तस्विरहरू:

प्रकाशित मिति: : 2022-03-21 20:00:00

प्रतिकृया दिनुहोस्