जीवनको ‘क्लोज-अप’मा ६१ पात्र

नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिक भएको हो। पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा सार्वजनिक गरे।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ। ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल : युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ।

निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै ‘क्लोज-अप’ एउटा राम्रो दस्तावेज भएको बताए। उनले नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे। उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाए।

अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन्।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज-अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन्। निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज-अप’लाई आफूले नेपाली चलचित्र र फिल्मकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज-अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा व्याख्या गर्दै नेपाली फिल्म पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको बताए।

लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए।

ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ। यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताईयो। ५९९ रुपैयाँ मूल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जनाइएकाे छ।

प्रकाशित मिति: : 2022-03-20 09:54:00

प्रतिकृया दिनुहोस्