कार्यालयमा ताल्चा ठोकेर सरकारी रकममा मुक्तिनाथ पुग्यो जनप्रतिनिधिको टोली

रोल्पाको माडी गाउँपालिका–५ का जनप्रतिनिधिमाथि सरकारी बजेट हिनामिना गरेको आरोप लागेको छ।

वडाध्यक्षसहित कार्यपालिका सदस्य र वडासदस्य कार्यकालको अन्तिम क्षणमा अन्तरपालिका अवलोकन भ्रमणमा निस्केपछि विपक्षीहरुले सरकारी रकम दुरुपयोगको आरोप लगाएका हुन्।

वडाध्यक्ष भरतबहादुर बुढाको नेतृत्वमा पाँच जनाको टोली फागुन २५ गते एक हप्ते भ्रमणका लागि रोल्पाबाट निस्किएको थियो।

वडाध्यक्ष बुढा, कार्यपालिका सदस्य सविता घर्तीमगर, वडासदस्य रत्नबहादुर डाँगी, गौरी परियार र वीरबहादुर घर्तीको टिम रातो स्कार्पियो भाडामा लिएर रोल्पा, रुकुम, कास्की, बाग्लुङ, बेनी हुँदै काठमाडौं पुगिसकेका छन्।

जनप्रतिनिधिहरुको भ्रमणलाई आलोचकहरुले सेवाग्राहीलाई मर्का पर्नेगरी वडा कार्यालयमा ताल्चा लगाएर सरकारी रकममा घुम्न हिँडेको दाबी गर्छन्।

तर, वडाध्यक्ष बुढाले भने सरकारी खर्चमा भ्रमण गरेको आरोपमा कुनै सत्यता नभएको बताए। भ्रमण गरेको स्वीकार गर्दै उनले काम विशेषले काठमाडौं आउनु परेको र ‘रिफ्रेसमेन्टका लागि आफ्नै खर्चमा केही ठाउँ घुमेको’ स्वीकार गरे।

‘कार्यकालको अन्त्यतिर छौँ। यत्रो समय काम गरियो, रिफ्रेस हौँ न त भनेर काठमाडौं आउँदा बाटो परेकाले एक हप्ताको समय लिएर पूर्वनिर्धारित कार्यक्रमअनुसार केही ठाउँ घुम्दै आएका हौँ,’ साेमबार काठमाडौं पुगेको उनले भने, ‘सरकारी रकम खर्च गरेर घुमेको होइन। यो राजनीतिक पूर्वाग्रहका आधारमा छरिएको भ्रम मात्रै हो।’

उनले संघीय सरकारका मन्त्रीहरुसँग भेटघाट गरेर केही योजनाका विषयमा छलफल गर्न काठमाडौं आउँदा घुम्दै आएको प्रष्ट्याएका छन्। रोल्पाको परिवर्तन, थवाङ्ग, रुकुमको भूमे गाउँपालिका घुमेर बेनी, पोखरा, मुक्तिनाथ हुँदै काठमाडौं आएको र सोमबार जिल्ला फर्कने कार्यतालिका रहेको वडाध्यक्ष बुढाले आइतबार सुनाएका छन्।

तर, आरोप लगाउनेहरुले भने वडाबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरेर उनीहरु भ्रमणमा निस्किएको बताएका छन्।

चुनाव घोषणा भइसकेको र कार्यकाल समाप्तितिर आइपुग्दा विनियोजित बजेट सक्न अनुत्पादक घुमघाममा खर्च गरिएको उनीहरुको दाबी छ। भ्रमण टोलीका नाइके तथा वडाअध्यक्ष बुढाले मुक्तिनाथमा नुहाउँदै गरेको फोटो फेसबुकमा राखेपछि प्रतिस्पर्धीले थप मसला पाएका छन्।

वडा कार्यालय नै खाली हुनेगरी भएभरका सबै जनप्रतिनिधि घुम्न निस्किएपछि सेवाग्राही भने मर्कामा परेका छन्। सार्वजनिक सूचनासमेत नगरी वडा कार्यालयमा ताल्चा लगाएर जनप्रतिनिधिहरु घुम्न निस्किएपछि वडामा काम लिएर गएका सेवाग्राही मर्कामा परेको एक स्थानीयले बताएका छन्।

वडाध्यक्ष बुढाले भने कार्यपालिका सदस्य धनबहादुर कामीलाई कार्यवाहक सुम्पेर हिँडेकाे दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-03-16 15:50:00

प्रतिकृया दिनुहोस्