डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या प्रकरणले आक्रोशित सर्वसाधारणले प्रदर्शन गरिरहेका बेला भिडियाे खिचेको भन्दै ११ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले दुई जना युट्युबरसहित ११ जनालाई भीड उत्तेजित बनाएको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको हो।
मोरङको सुन्दर हरैँचा नगरपालिका-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले पूर्व-पश्चिम लोकमार्गमा चक्काजाम गरेका थिए।
त्यही चक्काजामको भिडिओ खिच्ने कथित पत्रकार सम्झना राई, बिक लिम्बुसहितलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्राउ गरेको हो।
सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडियाे खिच्दा खिच्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जनालाई पक्राउ गरिएको बताए।
तर ती सबैको पहिचान खुलाउन उनले मानेनन्। प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ।