प्रकाश सपुतको गीत हामीलाई अझै अपुरो लाग्यो

Breaknlinks
Breaknlinks

प्रकाश सपुतको पछिल्लो गीत ‘पिर’ले बेस्सरी हिर्कायो, देश हिर्कायो, मुटुमा गाँठो पारेर ल्यायो! मन अमिलो भो, तंरग पैदा गर्‍याे। कुनै एउटा फिल्मभन्दा कम छैन। सर्जकले जुन परिकल्पनाले गीत लेखेको हो त्यो भिडियोले बोलेको छ। एक अब्बल सिर्जना। नेपाली गीत-संगीतको फाँटमा एउटा नयाँ इँट्टा थप्न सफल भएको छ।

फलामले फलाम काट्छ भनेको यही हो। अझ यसरी बुझौँ ‘वर्गविरुद्ध वर्ग भिडाउने’ भन्छ। हाम्रा अग्रज नेताज्यूहरूले भूमिगत हुँदा आम जनताले भोगेका दैनिकी हेरेकै हुन्। ती भोगाइलाई सरकारमा हुँदा जनताको पक्षमा निर्णय गरेको भए सायद आज यो दिन आउँदैनथ्यो होला।

उत्पादनको नारा सिर्फ नारामा मात्र सीमित हुँदाको परिणाम हो। वर्ग संघर्षको नाम जपेर हाम्रा नेताज्यूहरूले आफ्नो वर्ग फेर्न भ्याए। तिनलाई सघाउने भुइँ कार्यकर्ताहरू हिजोका ती सपनाहरूमै रूमलिँदै छाककाे जोहो गर्न भौँतारिरहेका छन्।

सत्य सबैलाई तितो लाग्छ। सपुतले यो गीतबाट माओवादी द्वन्दकालबाट हालसम्मको घटनाक्रमलाई यथार्थ चित्रण गरिदिएका छन्। देश बचाउन देशको लागि बलिदान दिन तयार कतिपय जनमुक्ति सेनाहरु अहिले कुनै विकट गाउँमा अङ्गभङ्ग भएर, अनि जिउभरी गोलीका छर्रा बोकेर कष्टकर जीवन बिताइरहेका छन्।

कथित सर्बहारा, उत्पीडित वर्गको निम्ति लडेको लडाइँ भन्दै सोझासाझा गरिब जनतालाई बन्दुक बोकाउने माओवादीका ती कमाण्डरहरु अहिले कहाँ पुगे हाउभाउ कस्तो छ ? के अहिले यी माओवादीका नेताहरुले उनीहरुलाई चिन्छन् ? जसले आफ्नो ज्यानको बाजी थापेर लडेकाहरू उनीहरूलाई अहिले चिल्ला गाडी, बङ्गालासम्म पुर्‍याए। उनीहरू अहिले तिनै लडाइँ लड्नेहरूलाई कदापी चिन्ने छैनन्, चिनेर नि नचिने जस्तै गर्छन्। किनकी यिनीहरुको खोक्रो राष्ट्रवाद थियो, स्वार्थी राजनीति थियो।

प्रकाश सपुतको गीत हामीलाई अझै अपुरो लाग्यो। आमाबाबुको किरिया बसेका किरियापुत्री अपरहण गरी मारेको, निर्दोष सर्वसाधारण चढेको बस एम्बुसमा पारी उडाएको, कर्तव्यनिष्ठ शिक्षक जिउँदै झुण्डाएको, पत्रकार मारेको, घरवास निमिट्यान्न पारेको, व्यासका पण्डितलाई गोली प्रहार गरी हत्या गरेको, भवन, पुल, बाटो भत्काएको कुरै आएन।

दिउँसै झ्यालढोका बन्द गरी परालको टौवामुनि टाट ओछ्याएर डराउँदै सुतेको, स्कुल पढ्न गएका विद्यार्थी स्कुलबाटै अपहरित भएको, बोल्नेको मुख थुनेको, जिब्रो थुतेको, बन्दुकका पाटाले सर्वसाधारण कुटेको, जनयुद्धको नाउँमा भएको तमाम ज्यादतिको कथा र संवाद अझै आएन। अझै भन्नुपर्दा जनयुद्धकै कारण घरबार विस्तापित भएका, जन-धनको क्षति भएको, आफ्ना आफन्त घुमाउनु पर्दाको पीडाबोध जस्ता दृश्य अझै भिडियोमा अटाउन सकेका छैनन्। यस्ता दृश्यहरु अटाएको भए आज भिडियो दमदार बन्ने थियो भने देशमा भुइँचालो नै जाने निश्चित थियो तर सामान्य विषय उठाउँदा पनि धेरैको टाउको दुखाइ भएको छ।

निश्चय नै जनयुद्धले देशको व्यवस्था परिवर्तनमा अहम भूमिका खेलेकै हो, नत्र देशमा अहिलेको व्यवस्था आउन सम्भवै थिएन। तर, देशमा यत्रो व्यवस्था परिवर्तन ल्याउन त्यही जनयुद्धमा घाइते हुनेहरू र बलिदान दिनेहरूको उचित मूल्यांकन चाहिँ नभएकै हो भन्ने पनि लाग्छ!

तर, चुनावकै मुखमा आएर गायकले सिर्जना गर्नुभएको गीत र कृतिले कतै उहाँ पनि कसैको उक्साहटमा लागेर, कसैलाई फाल्तु देखाउने र त्यसबाट अर्कोलाई फाइदा पुर्याउने बेइमानी खेलको पछि त लाग्नुभको होइन भन्ने शंका गर्ने ठाउँ चाहिँ छ।

गीतले प्रष्ट भनेको छ ‘आफ्नै विचार बैरी भयो।’ सपुतले वास्तविक कुरा देखाएका हुन्। माओवादीमा लागेर प्रत्यक्ष या पीडित बनेकाहरु गाउँ, शहर जहाँ सुकै छन्। उपचार नपाएका होलान्। बाध्यतामा अनेकन पेशा अपनाएका छन् भनेर देखाएको दृश्य सहर्ष स्वीकार गर्न अहिले धेरैलाई दाँतबाट पसिना नै आएको छ।

सानो सोच त्यागौँ। अब्बल कथाको गीत हो। यो गीतको भाग– २ सम्म पर्खौँ पनि! के थाहा तपाईंकाे टाउको दुखाईको विषय भाग– २ मा समेटिएर बजारमा लिएर आउँछन् कि ?

गीत, नाटक र फिल्मले कि त सामाजिक यथार्थ बोलेका हुन्छ्न्, कि त कल्पना। यो गीतले यथार्थ बोकेको छ। कसैको जीवन र भोगाइसँग मिल्न गएमा संयोग मानाैं र विश्लेषणात्मक व्याख्यासहित स्वीकार गराैँ। ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड’ भनेझैँ भएको छ सपुतको यो गीत।

अनि कलाकारले योभन्दा अझै कडा सिर्जना पस्किनुस्। १० वर्षे जनयुद्धले निम्त्याएको विनाश, हत्या हिंसा, दश वर्षे कष्टकर जनजीवन र देशले बेहोरेको क्षति, अनि अहिलेको उपलब्धिलाई समेटेर चलचित्र बनाउनुपर्छ।

अन्ततः आफ्नो सोच बदलौं, जीवन बदलिन्छ। जीवन बदलीय समाज, अनि समाज बदलिए राष्ट्र।

(जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौथो वर्षमा अध्यनरत विद्यार्थी हुन्)

प्रकाशित मिति: : 2022-03-15 20:05:00

प्रतिकृया दिनुहोस्