अमेरिकामा 'सागर घिमिरे एक्ट'माथि सुनुवाई जारी, नेपाली समुदायबीच छलफल हुँदै

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभामा सागर घिमिरे ऐनमाथि सुनुवाइ सुरू भएको छ। नेपाली मूलका एक मात्र विधायक डा. ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक गत बिहीबार न्यायिक समितिमा सुनुवाइ भएको थियो।

यही विधेयकको पछिल्लो अवस्थाको बारेमा जानकारी दिन र यस विधेयकलाई कसरी अगाडि बढाउने र यसमा के के समावेश गर्न आवश्यक छ भन्ने बारेमा सल्लाह सुझाव लिनका लागि डेलिगेट डा. भण्डारीले मार्च १३ अमेरिकी पूर्वी समयअनुसार साँझ ८ बजे एक भर्चुअल छलफल कार्यक्रम आयोजना गरेका छन्। जुममार्फत् आयोजना हुने कार्यक्रममा सहभागिताका लागि उनले नेपाली समुदायका प्रतिनिधिहरूलाई एक भावनात्मक आग्रह गरेका छन्।

‘अब सागरका लागि बाँच्दाको जन्ती र मर्दाको मलामी हुन सकिदैन, हुने भनेको यस्तै सहभागिता हो’ भन्दै डेलिगेट डा. भण्डारीले अगाडि लेखेका छन्, ‘नेपालीमा एउटा भनाइ छ, बाँच्दाको जन्ती, मर्दाको मलामी। स्व. सागर घिमिरेका लागि अब चाहेर पनि हामी कोही जन्ती र मलामी जान सक्दैनौ, सक्ने भनेकै उहाँसँग सम्बन्धित आयोजनाहरूमा सक्रिय सहभागी भएर योगदान गर्ने हो। यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि पनि हो।‘

नेपालीमा एउटा भनाइ छ, बाँच्दाको जन्ती, मर्दाको मलामी। स्व. सागर घिमिरेका लागि अब चाहेर पनि हामी कोही जन्ती र मलामी जान सक्दैनौ, सक्ने भनेकै उहाँसँग सम्बन्धित आयोजनाहरूमा सक्रिय सहभागी भएर योगदान गर्ने हो। यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि पनि हो।
- डेलिगेट डा. ह्यारी भण्डारी 

यसअघि विहीबार न्यायिक समितिमा सुनुवाइको सुरूवातमा विधेयकका प्रायोजक डेलिगेट डा. भण्डारीले सागर घिमिरे ऐनको पृष्ठभूमी प्रस्तुत गर्दै एक भावनात्मक मन्तव्य राखेका थिए। उनले सागर घिमिरे एक २४ वर्षीय प्रतिभाशाली नेपाली विद्यार्थी रहेको बताउँदै उनी गत वर्ष मे ८ मा मेरिल्याण्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मारिएको जानकारी दिए। यसरी मारिने सागर एक्लो व्यक्ति नभएको र बर्सेनी हजारौंको संख्यामा यस्ता निर्दोष सागरहरू मारिदा राज्य टुलुटुलु हेरेर बस्न नहुने भन्दै डेलिगेट डा. भण्डारीले यस्तो अवस्थाबाट राज्यलाई मुक्त पार्न आवश्यक कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताए।

विधेयकको पक्षमा बाल्टिमोर काउन्टीको समर्थन जनाउन कार्यकारीका प्रतिनिधि सहभागी भएका थिए। उनले यो विधेयक आवश्यक भएको दलील पेस गर्दै समर्थनका लागि सबै डेलिगेटसँग अनुरोध गरे। मृतक सागर घिमिरेका तर्फबाट लक्ष्मण अधिकारीले उनको निधन अनाहकमा भएको बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि विधेयक पारित भएर कानून बन्यो भने त्यो नै सागर र उनीजस्ता हजारौं पीडितका लागि सच्चा श्रद्धाज्जली हुने बताए। घटनामा परी बाँच्न सफल शंकर अधिकारीले घटनाको विवरण प्रस्तुत गर्दै आफू र आफूजस्ता पीडितका लागि न्याय हुनुपर्ने माग गरे।

सुनुवाई सत्रको माहौल अत्यन्त भावुक भएको थियो र थोरै मात्र विधायकले आफ्नो मत राखेका थिए। मत राख्ने सबैले विधेयकको पक्षमै मत राखेका थिए, कसैले पनि विपक्षमा मत राखेनन्।
जुम लिंकका लागि यहाँ क्लिक गर्न सकिने छ :
Meeting ID: 853 6028 8150. Passcode: 705853

तपाईं यहाँ क्लिक गरेर सुनुवाई हेर्न सक्नुहुन्छ । सुनुवाई १:३०:०४ देखि १:४४:४५ सम्म छ। 
 

सागर घिमिरेका बारेमा आधिकारिक जानकारी राख्न यो लिंक क्लिक गर्न सकिने छ।

 
 
 

 

प्रकाशित मिति: : 2022-03-14 06:52:00

प्रतिकृया दिनुहोस्