प्रदेश १ काे नाम ‘किराँत’ राख्न माग गर्दै माेटरसाइकल र्‍याली

File Photo
File Photo

प्रदेश नं. १ को नाम ‘किराँत’ राख्न माग गर्दै विराटनगरस्थित प्रदेशसभा कार्यालय घेराउ तथा माेटरसाइकल र्‍याली भएकाे छ।

किराँत राई यायोक्खा सुनसरीको आयोजनामा धरानबाट सुरु भएको मोटरसाइकल र्‍याली इटहरी, विराटनगरको मुख्यमन्त्रीको कार्यालय, अन्तरिक मामिला मन्त्रालय हुँदै प्रदेशसभा कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभाअघि प्रदेश सरकारको प्रदेश नामाकरण संयोजन समितिको संयोजक समेत रहेका स्वास्थ्य मन्त्री जयराम यादवलाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले सरकार पहिचानको आधारमा नाम प्रस्ताव गर्ने पक्षमा रहेको बताए। सरकारसँग दुई तिहाई सभा सदस्य नभएको कारण नाम पास गर्न प्रतिपक्ष एमालेको साथ चाहिने बताए। नाम राख्न एमाले सकारात्मक भए समस्या नहुने मन्त्री यादवको भनाइ थियो।

ज्ञापनत्र बुझाएपछि प्रदेशसभा कार्यालयको घेराउ गर्दै गेटमा कोणसभा भएको थियो। कोणसभामा सम्बोधन गर्दै किराँत राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले किराँत जातीय नभएर इतिहास, भूगोल, सभ्यता, भाषा र संस्कृतिको आधारमा भएको बताए। राईले किराँत शब्द कैलाश, कैरात हुँदै किराँत भएकोले यो नामप्रति कसैले शंका नगर्न र अध्ययन गरेर बोल्न अनुरोध गरे।

नेपालको इतिहासमा किराँत काल प्रष्ट उल्लेख भएको महेन्द्र शाहाले २०१७ सालमा १४ अञ्चल, ७५ जिल्ला विभाजन गर्नु पूर्व वल्लो किराँत, माझ किराँत र पल्लो किराँत गरेर प्रशासनिक विभाजन भएको सचिव राईको भनाइ थियो।

नेपालमा जनताको शासन स्थापित गर्न रामप्रसाद राई, रत्न बान्तावा, कटक साम्पाङ लगायत चार सय जतिले बलिदान, नवीन राई, दिलबहादुर राई लगायतले हालसम्म बेपत्ता रहेको बताए। संमृद्धिको लागि शान्ति आवश्यक रहने उल्लेख गर्दै पहिचानका आधारमा नाम राखिए मात्र त्यो संभव हुने बताए।

कोण सभाको समापन गर्दै आयोजक किराँत राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरिए अरु कडा कार्यक्रम ल्याइने चेतावनी दिए। किराया सुनसरी सचिव नवीन राईले सञ्चालन गरेको कार्यक्रम यायोक्खा केन्द्रीय सदस्य नागेश्वर राई, नेपाल आदिबासी जनजाति समन्वय समितिको अध्यक्ष राम मण्डुपा राई लगायत सहभागि भएका थिए।

र्‍यालीमा धरान, इटहरी, विराटनगर गरी करिव चार सय मोटरराइकल सहभागी रहेका थिए। किराँत राई विद्यार्थी संघका नेता, कार्यकर्ताहरु सहभागि भएको र्‍यालीमा किराँत प्रदेश–घोषणा गर, पहिचान विरोधी–होसियार लगायतको नारा लगाएका थिए।

यसअघि किराँत राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतको टोली राजधानी काठमाडौबाट आएर मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संसदीय दलका नेताहरु, मन्त्री र सांसदहरलाई भेटेर प्रदेशको नाम किराँत राख्न छलफल तथा स्मरण पत्र बुझाएको थियो।

यायोक्खाले किराँत प्रदेश नामकरणको लागि २५लाख हस्ताक्षर बुझाउनुको साथै मोटरसाइकल र्‍याली, बृहत आमसभा, कविता वाचन लगायतको शान्तिपूर्ण कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-03-11 13:31:00

प्रतिकृया दिनुहोस्