नेविसंघ महामन्त्रीमा निराजन नेपालको दाबेदारी

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन्। 

लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष समेत रहेका उनले महामन्त्रीमा दाबी गरेका हुन्।

नेविसंघको अधिवेशन नभएको ६ वर्ष हुन लागेको छ भने गठन भएको तदर्थ समिति पनि विघटन गरिएको छ। नयाँ गठन गर्न लागिएको तदर्थ समितिमा उनले महामन्त्रीमा दाबी गरेका हुन्। 

उनले आफूले विद्यार्थी राजनीति र नेविसंघमा समेत निरन्तर सेवा गरेको र संगठन मजबुत बनाउनका लागि आफूले महामन्त्री पदमा दावी गरेको बताए।  

नेविसंघको अधिवेशनको पर्खाइमा आफूहरु रहेको भए पनि तदर्थ समिति गठन गर्ने पार्टीको निर्णयलाई स्वीकारेको बताएका उनले संगठनलाइ अझ दरिलो बनाउने कोसिसमा लाग्ने प्रतिबद्धता जनाए। 

लामो समयबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेकाले आफूले महामन्त्रीको पद दाबी गरेको बताएका नेपालले स्ववियु परिषद्  अध्यक्षको जिम्मेवारी वहन गरेकाले पनि आफ्नो दाबी पुग्ने बताए। आफूभन्दा धेरै लामो समयदेखिख सक्रिय रहेकाले उनीहरुलाई अध्यक्ष पदमा सहयोग गरेर आफूले महामन्त्रीको जिम्मेवारी निर्वाह गर्नेगरी दाबी गरेको नेपालको भनाइ छ।

साथै उनले ३२ वर्षे उमेर हदबन्दीको निर्णयले धेरैलाई मारमा परेको गुनासो गरे। उमेरको हदबन्दी लगाउने भए नेविसंघको नेतृत्वमा रहेकालाई उचित स्थानको व्यवस्था गर्न उनले माग गरे। 

‘आफुले आफ्नो जीवन नै दिएपछि कुनै पदमा पुगेर सेवा गर्ने अवसरको थोरै लोभ सवैलाई हुन्छ। यो निर्णयले धेरैलाई निराश बनाउने पकै छ। नेविसंघको नेतृत्वमा उमेर हदबन्दी लगाउने भए उनीहरुलाई पनि पार्टीमा उचित स्थानको व्यवस्था गरिनुपर्छ। उनीहरुले राजनीतिमा दिएको योगदानको अवमूल्यन हुन नहुने र पार्टीले यसमा ध्यान दिनेमा विश्वास गर्छु,’ निराजन नेपालले भने। 

राजनीतिप्रतिको युवा वितृष्ण मेट्न र दृष्टिकोण तोड्न आफूले नेविसंघ महामन्त्रीमा दाबी गरेका बताएका उनले भने, ‘पछिल्लो समय युवा पुस्तामा राजनीतिलाई हेर्ने दृष्टिकोण केही भिन्न बन्दै गएको छ। यही कुरालाई तोड्न र राजनीति विकास र समृद्धिको मेरूदण्ड रहेको बुझाउन हामी पछी परिरहेका छाँै। यही बुझाउन र राजनीतिमा युवाल अझ प्रोत्साहित गर्न पनि मेरो उद्देश्य छ।’ 

आफ्नो दाबीलाई माउ पार्टी कांग्रेसले मनन गर्दै नेविसंघ तदर्थ समितिको नेतृत्व चयन गर्ने उनको विश्वास छ। 

प्रकाशित मिति: : 2022-03-10 16:21:00

प्रतिकृया दिनुहोस्