नेपालका लागि अस्ट्रेलियाका राजदुत फेलिसी भोल्क र प्रदेश १ का सभासद बुद्दी कुमार राजभण्डारीले संयुक्त रुपमा सोलुखुम्बुको म्यापा दुधकोशी गाउँपालिकाको वाकुमा नवनिर्मित स्वास्थ्य चौकी उद्घाटन गरेका छन्।
अस्ट्रेलियन हिमालयन फाउण्डेसन, एक्सन फर नेपाल, ओन हार्ट वोल्डवाइड र स्थानीय गाउँपालिका तथा सामाजिक संस्थाहरुले निर्माण सम्पन्न गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत भोल्कले भनिन्, 'यो सहयोग नेपाललाई अस्ट्रेलियाको तर्फबाट प्रेम र प्रतिबद्दताको रुपमा गरिएको हो।व्यवहारिक मित्रताको प्रतीकका रुपमा भएको यो कार्यक्रममा म अस्ट्रेलियन सम्पर्क सुत्रका रुपमा उपस्थित हुन पाउँदा गौरवान्वित महसुस गरेकी छु।'
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर समेत पारेर यो कार्यक्रम गरिएको थियो। अस्ट्रेलियन राजदुत भोल्कले रीड तथा अस्ट्रेलियन हिमालयन फाउन्डेसनबाट दूर शिक्षा तथा शिक्षक तालिम प्राप्त गरेका स्थानीय सागरमाथा माविका शिक्षकहरुसंग पनि भेट गरेकी छन्।
कोभिड-१९ ले विद्यालय शिक्षामा थप जटिलता भएकोले रेडियो तथा घरमै गएर शिक्षकले पढाउने कार्यक्रममा अस्ट्रेलियाले जोड दिएको भन्दै आफू नेपालका महिलालाई समान अवसर दिने पक्षमा उभिएको पनि राजदूत भोल्कले बताइन्।