सोमबार, १५ डिसेम्बर २०२५

नेपाल र बेलायतबीच गोर्खा मुद्दाबारे वार्ताको तयारी

News Image
• • •

लामो समयदेखि प्रतिक्षारत नेपाल र बेलायतबीच गोर्खाका मागका सम्बन्धमा वार्ता हुँदैछ। गत हप्ता बेलायतको लागि नपाली राजदुत ज्ञानचन्द्र आचार्यले पदभार सम्हालेर बेलायत पुगेसँगै गोर्खा सैनिकहरु उत्साहित भएका छन्।

गत महिना भूपू गोर्खा सैनिकहरुको मागका सम्बन्धमा नेपाल-बेलायत वार्ताका लागि नेपाल सरकारको मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूत आचार्यको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

लन्डनस्थित नेपाली दूतावासका नवनियुक्त राजदुत आचार्यद्वारा बेलायतको रक्षा मन्त्रालय (एमओडी) लाई गोर्खा सैनिकहरुको माग सम्बन्धमा त्रिपक्षीय वार्ताका लागि आह्वान पत्रसमेत पठाइसकेको जानकारी प्राप्त भएको छ।

पत्रमा नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिका तर्फबाट वार्ताका लागि भएको गृहकार्यबारे बेलायत सरकारलाई औपचारिक रुपमा जानकारी दिएको छ।

राजदूत आचार्यले केही दिनअघि नेपाल पत्रकार महासंघ बेलायतको स्वागत कार्यक्रममा गोरखा समस्याको अर्थपूर्ण र दीर्घकालीन समाधान खोजिने बताएका थिए।

यसैबीच वार्ताको लागि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रिय अध्यक्ष कृष्ण कुमार राई नेपालबाट बेलायततर्फ प्रस्थान गरिसेकेका छन्।

नवनियुक्त राजदुत बेलायत पुगेसँगै गोरखा संगठनका प्रतिनिधि र अभियन्ताहरुसंग छलफल तिब्र पारेको छ। बेलायतस्थित नेपाली राजदूतावासमा विभिन्न गोर्खा संगठनहरुको छलफल क्रममा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), गोर्खा सत्याग्रह संघर्ष समिति, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएसन (नेसा) र गोर्खा जस्टिस ग्रुपका प्रतिनिधिलगायत अभियन्ताहरुसँग राजदुत आचार्यले भेटघाट गरेका छन्।

गत ४ मार्चमा नेपाली राजदुतवास लण्डनमा गोरखा संगठनका प्रतिनिधि र अभियन्तासँगको वार्तावारे संक्षिप्त कुराकानीमा वार्तामा उठ्न सक्ने विषयहरुबारे कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको बताए।

वार्ताको लागि नेपाल सरकार, बेलायत सरकार र गोरखा संगठनको तर्फबाट ३-३ जना रहने बताइएको छ। गोरखाहरुको तर्फबाट सहभागी हुने ३ जनामध्ये मेजर जुद्ध गुरुङ्गको नाम टुँगो लागिसकेको र बाँकी २ जनाको नाम प्रस्तावितरुपमा नेपाल सरकारलाई नाम पठाइसकेकोले सरकारद्वारा चाँडै नाम सार्वजनिक गर्नेमा उनीहरु विश्वस्त छन्।

साथै पूर्वराजदूत लोकदर्शन रेग्मीद्वारा गठित निर्देशक कमिटिबाट नै प्रतिनिधि भएर वार्तामा बस्ने निचोडमा पुगेको समेत जानकारी गराए।

इतिहासमा प्रथम पटक हुने नेपाल-वेलायत वार्ता र सम्वादबाट प्रतिफल निस्कने गोरखाहरु उत्साहित र आशावादी छन्।

यद्यपि वार्ता भनेको सम्झौता पनि भएकोले सफलता हासिल गर्न प्रस्तुत विषयहरुमा हाम्रो तर्फबाट तथ्यपरक र दृढ भएर प्रस्तुत हुनुपर्ने अध्यक्ष राईले बताए।

प्रत्येक विषयहरुमा नेपाल सरकारको प्रतिनिधि र निर्देशक कमिटीबीच गम्भिर रुपमा छलफल गरी कडा प्रस्तुतीको साथ सबैको आवाज एक हुन आवश्यक रहेको पनि बताए।

नेपाली मुलका गोर्खा सैनिक २ सय र्ष भन्दा धेरै बेलायती सेनामा आवद्द छ। उनीहरुले बेलायतको तर्फबाट पहिलो र दोस्रो  युद्धलगायत सयौं ठुला साना युद्धमा अग्रपंतिमा रहेर लडेका छन्।

गोर्खा सैनिकहरुद्वारा विगत ३ दशकदेखि समान पेन्सन , अधिकार र न्यायको लागि बेलायत सरकार समक्ष निरन्तर आवाज उठाइरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!