कर्णालीका बालबालिका लागि पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित एस मोडमा ठूलो दुर्घटनाबाट जाेगिएकाे छ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको ट्रकको ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारको प्रयास भइरहेको छ।
गत आइतबार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्के पनि खस्नबाट भने जोगिएको छ।
कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रकको अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन्।
उनले दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको बताए। चालकको स्वास्थ्य जाँच गर्न पठाएको छ। कैलाली घर भएका चालक हरिस धामीले चलाएको उक्त ट्रकको आधा भाग सडक बाहिर निस्केको छ। लोड गरिएको पौष्टिक आहार सुरक्षित निकाल्न प्रहरी खटिएको छ।
एस मोडको सडक साँघुरो भएका कारण यसअघि पनि ट्रक दुर्घटना भएको थियो। प्रहरीका अनुसार एउटा ट्रक केही वर्षअघि पनि त्यहाँबाट खसेको थियो।
कर्णाली राजमार्गमा साँघुरो भएकाले जुनसुकै स्थानमा पनि दुर्घटनाको जोखिम भएको सवारी चालकहरू बताउँछन्। खिड्की ज्यूलादेखि हुल्म क्षेत्रसम्म तीन मिटर बराबरको पनि सडक नहुँदा कैयौं स्थानमा दुर्घटनाको जोखिम बढेको छ।
चर वर्षदेखि कर्णाली राजमार्गमा जीप चलाउँदै आईका चालक इन्द्रबहादुर विष्टले भने, 'साँघुरो सडक, धुलो र हिलोले हैरान बनाउँछ।'