जुम्लामा रहेका नेपाली सेनाको ब्यारेकभित्र स्याउका विरुवा रोपेर सुन्दर बगैंचा निर्माण गरिएको छ। बगैंचाका केही स्याउले फल दिन थालेका छन् भने केही हुर्कँदै छन्।
अघिल्ला वर्षमा रोपेका स्याउका विरुवामा पालुवा पलाउन थालिसकेको छ। नयाँ बिरुवा रोपिएको छ।
स्याउको विरुवाले सेनाको ब्यारेक निकै सुन्दर बनाएको छ। नेपाली सेना २४ नम्बर बाहिनी अड्डामा झण्डै १४ सय स्याउका विरुवा छन्। जसमध्ये २५० स्याउका विरुवाले फल दिन्छन्।
त्यस्तै नन्दाबक्स गणमा ६ सय स्याउका विरुवा रोपिएको छ। गणमा तीन वर्षदेखिका स्याउका विरुवा फल्ने तयारीमा छन्।
जुम्लामा नेपाली सेनाका २४ नम्बर बाहिनी अड्डा र नन्दाबक्स गण गरी दुई वटा ब्यारेक छन्। दुबै ब्यारेकमा स्याउ तथा ओखर रोपिएको छ।
मंगलबार परेको सेना दिवसको अवसरमा मात्रै बाहिनीमा २ सय स्याउ र एक सय ओखरका विरुवा रोपिएको हो। बाहिनीपति रामचन्द्र केसीले व्यारेकभित्र स्याउखेती निकै राम्रोसँग फस्टाएको बताए।
’फल्ने स्याउ फुल्न आँटेका छन्। नफल्ने स्याउ पालुवा पलाउने संकेत दिदैछन्,’ उनले भने,’ यहाँको पहिचान बचाउने र सेनाबाट अवकाश भइसकेपछि कृषि क्षेत्रमा आकर्षण गर्ने हेतुले बगैँचामा स्याउखेति प्रारम्भ गरिएको थियो।’
स्याउको सिजनमा ब्यारेक नै राताम्य हुने उनले बताए। उनकाअनुसार स्याउका विरुवाको संरक्षण गर्न ब्यारेकभित्रको व्यवस्थापनलाई चुस्त बनाइएको छ।
ब्यारेक भित्रको सेनाले स्याउ रोपेको खण्डमा सम्बन्धित व्यक्तिले नै रेखदेख गर्ने गरेका छन्। बाहिरबाट गएका अतिथिले रोपेको विरुवामा सेनाले संरक्षण गर्ने जिम्मेवारी तोकेको छ।
पटक पटक स्याउको विरुवा गोडमेल तथा रेखदेख गर्न पालैपाले डयुटी गर्ने गरिएको छ। बाहिनीपति केसीले सेनाको व्यारेक भित्रको स्याउ बगैंचा सबै किसानको लागि प्रेरणादायी हुने बताए। उनले थपे, ’पहिले स्याउ थियो। यो वर्ष देखि एक सय बोट ओखर पनि रोपिएको छ।’
सेनाले फौजी काम मात्र गर्ने नभई कृषि क्षेत्रसँग जोडिएर पनि नमुनाको काम गरेको छ भन्ने सन्देश फैलाउन चाहेको उनले बताए।
’बगैँचा व्यवस्थापन, काँटछाँट तथा मलखाद्य व्यवस्थापनको लागि कृषि प्राविधिकसंग पटक-पटक परामर्श लिने गरिएको छ,’ उनले भने, ’अहिले स्याउको सिजन भएकोले कृषि कार्यालय, स्याउ सुपरजोन कार्यालय र बागवानी अनुसन्धान केन्द्र राजिकोटसँग समन्वय भइरहेको छ।’
उनले स्याउ खेतिको लागि आँफै कृषि क्षेत्रमा काम गर्ने कार्यालयमा पुग्ने गरेको बताए।
’त्यहाँ गएर प्राविधिक सरसल्लाह लिने गरेको छु,’ उनले भने, ’जुम्लाको स्याउ खेतिको प्रवर्द्धन कार्यमा नेपाली सेनाको पनि भूमिका रहेको छ। यो बगैंचा सबैको प्रेरणाको स्रोतका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।’
आगामी चैत महिनामा उच्च घनत्वको फुजी स्याउको विरुवा रोप्ने तयारी समेत भइरहेको नेपाली सेनाले जनाएको छ। नन्दाबक्स गणका गणपति रविन थापाले सेना कृषि क्षेत्रको उत्पादनमा जोडिएको बताए।
’सेना दिवसको अवसरमा गणमा तीन सय स्याउका विरुवा रोपिएका छन्। ३० विरुवा ओखर र २० विरुवा देवद्यरर रोपिएको छ,’ उनले भने, ’स्थानीय जातको स्याउ रोपिएकोले यहाँका किसानले समय समयमा बगेँचा अवलोकन गर्न सक्नेछन्।’
स्याउले सेनाको ब्यारेकलाई रमणीय र सुन्दर बनाएको छ। उनका अनुसार त्यहाँ रोपिएको मध्ये ५ प्रतिशत स्याउ नष्ट हुने गरेको छ। सबै विरुवा हुर्कन्छन्। एक दशक पछि ब्यारेक स्याउमय हुनेछ।
स्याउको विरुवाको रेखदेख र संरक्षणका लागि तालिमप्राप्त जनशक्ति खटाईएको छ।
उनले थपे, ’हरेक दिनमा दुई जना खटाउँछौँ। कृषि प्राविधिक ल्याएर विरुवा देखाउँछौँ। विरुवा लगाउने, खाडल खन्ने, काँटछाँट गर्ने र बगैँचा व्यवस्थापन गर्ने बिषयमा पटक पटक तालिम दिन सम्बन्धित सरोकारवाला कार्यालयमा जवानलाई पठाउने गरिएको छ।’
कुनै पनि सेनाका जवानदेखि अधिकृतसम्म अवकाश प्राप्त भएको खण्डमा कृषि क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्न सक्ने गरि काम गर्न थालिएको सेनाले जनाएको छ।
बाहिनीपति दिपक बानियाँको पालादेखि ब्यारेकमा स्याउ रोप्ने काम सुरु भएकोमा अर्का बाहिनीपति यम सापकोटाको पालामा सबैभन्दा बढी स्याउ रोपिएका थिए।