रूसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र प्रहार, कतै सङ्घर्ष कतै भागाभाग

बिएल संवाददाता

किभ, युक्रेन
Photo: RT
Photo: RT

रूसले ब्ल्याक सीबाट युक्रेनलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरिरहेकाे छ। सङ्घर्ष चर्किरहेका बेला केही स्थानमा हवाई आक्रमण पनि भइरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

रूसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ। युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रूसले चेतावनी दिएको हो। 

रूसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको बीबीसीले जनाएकाे छ।

युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ। किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने जनजीवन कष्टकर बनेको छ। रूसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन्। रूसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ।

रूसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताएका छन्।

शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए। उनले यसका लागि जनतालाई तयार रहन आग्रह पनि गरेका थिए। युक्रेनले पनि रूसको विमान खसालेको दावी गरेको छ। तर, यसको निस्पक्ष पुष्टि भने भएको छैन। युक्रेनी रक्षा मन्त्रालयले किभमा बस्ने मानिसलाई रूसी सैनिकहरूमाथि आक्रमण गर्न पेट्रोल बम तयार गर्न पनि आग्रह गरेको छ।

रूसको हमलापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे तर उनले कुनै प्रतिक्रिया पाएनन्। 

यसपछि रूसले एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको बताएको छ। वार्ताका लागि आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ। रूसले वार्ता आफ्नै शर्तमा मात्र हुने स्पष्ट पारेको छ। रूस यो वार्ता बेलारूसको मिन्स्क सहरमा गर्न चाहन्छ भने युक्रेन पोल्याण्डको भर्साइलमा गर्न चाहन्छ।

युक्रेनको सेनाले रूसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ। फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ।

युक्रेनी सेनाको दाबीअनुसार रूसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ। रूसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन।

प्रकाशित मिति: : 2022-02-26 12:24:00

प्रतिकृया दिनुहोस्