अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)को विरोधमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र आज (आइतबार) दिनभर तनावग्रस्त रह्यो।
प्रर्दशनकारीले सुरक्षाकर्मीमाथि ढुगांमुढा गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोलि समेत चलाएको छ। संसदभित्र एमसीसी टेबल भइरहँदा बाहिर भने प्रदर्शनकारी र सुरक्षाकर्मीको झडप भएको थियो।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि संसद भवनभित्र र बाहिरको अवस्था निकै तनावपूर्ण बन्यो। एमसीसीको विरोधमा उत्रिएका प्रर्दशनकारीले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र कब्जामा लिएका थिए। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो।
एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश हुँदै गर्दा संसद भवन बाहिर भने एमसीसीको विरोधमा प्रदर्शन चर्किएको थियो। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।