जुनीचाँदे गाउँपालिका-४ का नरेश शाहीले सुर्खेत लेकबेँशी नगरपालिकाकी अञ्जना रानासँग तीन वर्षअघि भागी विवाह गरे। उनीहरु वीरेन्द्रनगरस्थित एक निजी विद्यालयमा कक्षा सातमा पढ्दै थिए, जतिबेला नरेश १४ र अञ्जना १३ वर्षकी थिइन्।
पढ्ने उमेरमा विवाह गरेको भन्दै केटाका परिवारले अस्वीकार गरे। जोडी अलग भएर सुर्खेतमै बस्यो। विस्तारै आर्थिक समस्याले घर खर्च टार्न मुस्किल भएपछि रोजगारीका लागि नरेश भारत हान्निए।
बिहे गरेको डेढ वर्ष नपुग्दै अञ्जना भने दोस्रो बिहे गरेर फरार भइन्। सँगै जिउने-बाँच्ने कसम खाएको यो जोडी विवाहको दुई वर्ष पनि टिक्न सकेन। आफैले रोजेकी श्रीमतीले साथ छाडेपछि नरेश अहिले एक्लो भएका छन्।
तीन महिनाअघि मात्र स्वदेश फर्किएका नरेश भन्छन्, ‘उसकै लागि परिवारबाट छुट्टिएँ, पढाइ छाडेर विदेश गएँ। धन कमाएर घर बनाउने सपना थियो, तर उसले म नफर्किँदै अन्तै टाप कसिछ।’
त्यसैगरी, सिम्ता गाउँपालिका-४ की पार्वती पोख्रेलले कक्षा ८ मा पढ्दै बिहे गरिन्। १४ वर्षको कलिलो उमेरमा विवाह गरेकी उनी १५ वर्षमै आमा बनिन्। घरव्यवहारमा परिपक्व नहुँदा परिवारका सदस्यहरुले हेला गरे। पढ्ने उमेरमा विवाह गरेका कारण उनका श्रीमान् घरखर्च धान्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए।