सत्तारुढ गठबन्धन दलहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने कुरामा अझै सहमति बन्न सकेन।
आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेवुल गर्ने सहमति गरे पनि एमसीसीका पक्षमा मतदान गर्ने कुरामा सहमति जुटाउन नसकेको हो।
बैठकबाट बाहिरिएपछि सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीका पक्षमा मतदान गर्ने कुरामा बोल्न चाहेनन्।
उनले बैठकमा एमसीसी संसदमा आजै टेवल गर्ने जानकारी दिए तर मतदानमा सहमति भयो की भएन भन्ने प्रश्नमा उनी मौन रहे।
‘आज (आइतबार) एमसीसी परियोजना सम्झौता संसदमा टेवुल हुन्छ। त्यसपछि सडकमा होइन संसदमा गहन रुपले छलफल भएर एउटा निस्कर्षमा पुग्ने कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु,’ मन्त्री कार्कीले भने।
उनले एमसीसीलाई संसदमा अघिल्लो केपी ओली शर्मा नेतृत्वको सरकारले दर्ता जनाउँदै वर्तमान सरकारले अभिक्षिन्न उत्तराधिकारीको रुपले आइतबार एमसीसी टेवुल गराउने बताए।
एमसीसी संसदबाट अनुमोदन गर्न एमालेले साथ दिन्छ त? भन्ने प्रश्नमा उनले भने, ‘अहिले प्रमुख प्रतिपक्षमा रहेको एमाले त्यतिबेला सरकारमा थियो। एमालेले यसको जवाफ दिनुपर्छ।’