झाडी फाँडेर केरा खेती

File Photo
File Photo

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन्। तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यावसायिकरुपमा केरा खेती सुरु गरे।  

रघुगङ्गा–२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन्। न्यू कालीगण्डकी कृषि फर्मका सञ्चालक सुनारले पछिल्लो याममा रु एक लाख ५० हजार बराबरको केरा बिक्री गरेको बताए।  बन्दाबन्दीको फुर्सदमा झाडी फाँडेर ९०० केराका बिरुवा लगाएको थिए,'उनले भने 'सुरु गरेको डेढ वर्र्षमै आम्दानी हुन थालेको छ।' करिब २० वर्र्षदेखि खेती हुन छाडेको पाखोबारीको झाडी फाँडेर तीनैजनाले केरा खेती गरे। 

कटुवालले आरम्भ र कार्कीले कालीगण्डकी कृषि फर्म सञ्चालन गरे। उनीहरुले केरा खेतीका साथै बाख्रा, बङ्गुर, कुखुरा र माछापालनसमेत गरेका छन्। एकजनाले कृषि फर्ममा रु १५ लाखदेखि रु २० लाखसम्म लगानी गरे। । बजार नजिक, यातायात सुविधा, अनुकूल भूगोल र हावापानी भएकाले केरा खेती गरेको कटुवालले बताए। 'बाँझिएर खेर गएको पाखोबारी केराका बिरुवाले हराभरा बनेको छ,' उनले भने, “रोजगारी सिर्जना र आयआर्जनको अवसर पनि मिलेको छ।” कटुवालले केरा खेतीसँगै व्यावसायिक कुखुरापालन समेत गरे।

उनीहरुले स्थानीय बाइसे, मुङग्रे, धुस्रे र नङग्रे जातको केरा खेती गरेका छन्। 'धान, कोदो, मकै, गहुँ खेती नहुने पाखोबारीमा बदामको मात्र खेती हुन्थ्यो,' कार्कीले भने 'बदामभन्दा केरा खेतीबाट चार÷पाँच गुना बढी आम्दानी भएको छ।' सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो। 

बैसरी, बेनी, पोखरेबगर र मुस्ताङमा केरा बिक्री हुन्छ । बैसरी हुँदै रिसिनचौतारी जोड्ने सडक बनेकाले व्यापारी केरा किन्न गाडी लिएर गाउँमै पुग्छन्। रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष रिम कटुवालले बैसरी, रिसिनचौतारी, राममन्दिर र माझखर्कमा केरा खेतीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गरिएको बताउ। सिँचाइका लागि गाउँपालिका, कृषि ज्ञान केन्द्र र सिँचाइ कार्यालयमा पहल गरेको उनले बताए।  
 

प्रकाशित मिति: : 2022-02-18 15:53:00

प्रतिकृया दिनुहोस्