सोमबार, १५ डिसेम्बर २०२५

मेयरका आफन्तलाई सडक मिच्न छुट !

मिलन के राउत

मिलन के राउत

  उर्लाबारी
News Image
• • •

मापदण्ड विपरित बनाइएको भन्दै स्थानीयका घर–टहरा भत्काउन अग्रसर हुने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो आफन्तले सडक मिचेर घर बनाउँदा भने रमिते बनेका छन्।

नातामा उनका दाजु पर्ने आनन्द फागोले सडक मिचेर भौतिक संरचना निर्माण गरेपनि कुनै कारवाही हुन सकेको छैन। आनन्दले धमाधम कामलाई अगाडि बढाएका छन्। सडकको ड्रेनसंगै उनको तीनतले महल निर्माण भैरहेको छ। 

उर्लाबारी–५ स्थित मधुमल्ला सडक खण्डको हाटखोलामा सरोकारवाला निकायलाई खुलेआम चुनौती दिँदै मापदण्डविपरित भवन निर्माण कार्य अघि बढाएको स्थानीयको आरोप छ। 

पहुँचको भरमा खुलेआम सडक मिच्दापनि कुनै कारवाही नहुनु दुःखद भएको स्थानीयको भनाइ छ। 

सडक ऐन विपरित संरचना निर्माण भएपनि सम्बन्धित निकायले भने हटाउन पहल गरेको छैन। जिल्लाको  सहायक सडक अन्तरगत उर्लाबारी–मधुमल्ला खण्ड पर्छ।

जसअनुसार सहायक मार्ग दायाँबायाँ ७०/७० मिटर छाड्नु पर्छ। ‘सडकमै टसाँएर भवनका लागि फलामे सिंढी बनाइएको छ’ एक स्थानीय भन्छन्– सबै डरपोक भएकाले हेपेरै फागो परिवारले मनोमानी गरेका हुन्।

मापदण्डविपरित सडक किनार मिचेर संरचना बनाएको भन्दै उर्लाबारी नगरपालिकाका मेयर फागोको अगुवाइमा केहि अघि दुईजना स्थानीयको पक्की टहरा भत्काइएको थियो। पुर्व–पश्चिम राजमार्गको मोरङ खण्डमा मावा पुलदेखि सुनझोडा पुलसम्म करिब ५ किमी क्षेत्रमा सडकको मापदण्ड मिचेर दर्जनौ संरचना बनाइएको छ। 

तर, प्रतिशोध साँधेर मेयर फागोले दुईजनाको मात्रै संरचना भत्काइएको भन्दै उतिबेला चौतर्फी आलोचना भएको थियो। बिना सुचना आफ्नो टहरो भत्काइएको भन्दै उर्लाबारी–४ का अम्बिका खतिवडाले जिल्ला अदालत मोरङमा फागोविरुद्ध मुद्दासमेत दायर गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!