२०७७ साउनको विनाशकारी झरी।
देशका विभिन्न स्थानहरूमा बाढी–पहिरोले वितण्डा मच्चाइरहेको थियो। देशभरबाट बाढी–पहिरोले क्षति पुर्याएको खबर रेडियो, टेलिभिजनले एकनाश फुकिरहेका थिए। देखाइरहेका थिए। पत्रपत्रिकामा पनि उस्तै क्षतिका खबरले भरिएका थिए।
०७८ को साउने झरीले तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ स्थित सिमलतालमा रहेको दन्द्राङबेँशी र भरतपुर महानगरपालिका २९ साविक कविलास जोड्ने झोलुंगे पुल बगायो। पुलका लठ्ठा छोडेर बाढीले बाँकी सबै बगायो। पुल छिनभरमै क्षतिग्रस्त बन्न पुग्यो।
तनहुँको वडा नम्बर ५ का अधिकांश स्थानीय यही पुलको प्रयोग गरेर दैनिक उपभोग्य कामका लागि चितवन जान्थे। बाढीले पुल क्षतिग्रस्त बनाएपछि आउजाउमा समस्या भयो।
सिमलताको यो पुल बाढीले बगाएपछि अर्को बाटो प्रयोग गर्नुपर्यो। जुन डेढ दुई घण्टा बढी त्रिशुलीको तिरैतिर हिँडेर जानुपर्छ। चिप्लो चट्टानको बाटो हुँदै बर्खामा झन जोखिम हुन्छ। बाटो लामो हुने भएपछि तनहुँ ५ दन्द्राङबेँशीका ५८ वर्षीय बलबहादुर आले मगर लामो बाटो जानुभन्दा जोखिम मोलेरै क्षतिग्रस्त पुलबाट त्रिशुली तर्न अघि सरे। दुभाग्र्यवश शरीरको सन्तुलन बिग्रिन पुग्दा पुलबाट खस्न पुगे। ७७ साउन १७ गते पुलबाट खसेका बलबहादुरको अहिलेसम्म कुनै पत्तो छैन।
‘इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा निवेदन दियौं। देवघाट पुलिसलाई खबर गरेर खबर गछौं भनेको थियो,’ स्थानीय सन्तोष राना मगरले भने, ‘अहिलेसम्म कुनै अत्तोपत्तो छैन।’ त्रिशुलीले बगाएका आलेको शव त फेला परेन। तर, ३ सय बढी स्थानीयले प्रयोग गर्दै आएको यो पुलको पुन: निर्माण अहिलेसम्म पनि हुन सकेको छैन।
पुल नबन्दा निकै सास्ती ब्यहोर्नु परेको रानाले सुनाए। स्कुल पढ्न जाने विद्यार्थीसमेत पुल नबन्दा हैरानीमा छन्। स्थानीय जुना थापा मगरले पुल नबन्दा लामो बाटो गरेर बच्चाहरुलाई स्कुल छोड्न जानु परेको बताइन्।
‘पुल नबन्दा धेरै दु:ख छ। यहाँ पुल भएको भए यहीबाट सजिलै जान सक्थ्यो,’ उनले सुनाइन्।
चितवनको लागि यो पुलको खासै खाँचो नरहे पनि आफूहरुले निकै सास्ती खेप्नु परेको स्थानीय बताउँछन्। दन्द्राङबेँसीमा सामुदायिक स्कुल पनि छैन। विद्यार्थीहरु पढ्न चितवनमै जानुपर्छ। २ घण्टा लेउ जमेको तिरैतिर जोखिम मोलेर स्कुल जानुपर्ने बाध्यता छन्।
बाढीले पुल बगाएपछि सोध–खोज गरिदिन र पुलको क्षतिबारे इलाका प्रहरी कार्यालय आँबुखैरेनीको मुलुल्का उठाएर स्थानीयकै सक्रियतामा गाउँपालिकाको सिफारिससहित गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा निवेदन दिएको स्थानीय सन्तोष रानाले बताए। मन्त्रालयमा फोन गर्दा प्रहरीको मुचुल्का र पालिकाको सिफारिस लिएर आउनु भनेकाले त्यसै गरेको उनले सुनाए।
‘पहिला ठिक छ बनाउँछौं भनेर मन्त्रालयबाट आश्वासन पायौं। घटनाको ४/५ महिनापछि डिपिआरका लागि मन्त्रालयबाट मान्छे पनि आएका थिए। पछि त यो भन्दा बाग्लुङमा बढी क्षति छ। बजेट पनि पुगेन अर्को वर्ष गरौंला भनेर पन्छाइयो,’ उनले सुनाए।
त्यसपछि पुल डिभिजन कार्यालय ललितपुरमा पुल निर्माणको लागि गुहार्न पुगे। प्रदेशमा कागजी काम अघि बढिसकेको हुनाले त्यो डकुमेन्ट फेरि मगाइयो। भदौमा टेण्डर निकाले असोजमा सम्झौता भएको खबर पाए पनि त्यो काम अघि बढ्न नसकेको उनले सुनाए।
पुल नहुँदा आँबुखैरेनी– ५ का दन्द्राङबेँसी, दोन्द्राङ, सितान, मजुवा, भोटेश्वरा, लेस्तर, सानो भञ्ज्याङ, भकुण्डी लगायतका गाउँका ३ सय स्थानीय प्रभावित हुन पुग्छन्।
यता वडा नम्बर ५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङ भने पुल निर्माणबारे अन्धाधुन्ध रहेको बताउँछन्। ‘खै अब ठेकेदारको नम्बर पनि छैन। केही सम्पर्क छैन। हामी त अन्धाधुन्ध छौं,’ उनले भने।
जनप्रतिनिधिको हैसियतले सम्बन्धित निकायमा घचघच्याउनुपर्ने भए पनि कसलाई सम्पर्क गर्ने थाहै नभएको उनले सुनाए।
गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले आफूहरुसँग सम्बन्धित विषय नभएको सुनाए। कसैले सोध–खोज गरिदिनुपर्यो भनेर नआएको उनको भनाई छ।
पुल डिभिजन कार्यालय ललितपुरले पुल निर्माणको लागि ठेक्का भइसकेको बताएको छ। कार्यालयमा सम्पर्क गर्दा एक कर्मचारीले ठेक्का प्रक्रिया अघि बढी सकेको बताए।