‘ला,’ मेरो हातमा पोस्ट्कार्ड थमाएर ऊ खुरुरु क्लासतिर दगुरी।
हाफ टाइम सकिने बेला हुनै लागेको थियो। किस्ने स्कुल आएको थिएन। त्यसैले हाफ टाइममा एक्लै थिएँ। अरु कसैसँग स्कुलमा मेरो खासै दोस्ती जम्दैनथ्यो। किस्ने र म भएपछि अरु कोही चाहिन्थेन। कहिलेकाहीँ म स्कुल आइनँ भने किस्ने एक्लै हुन्थ्यो। एक जना स्कुल आउन नपाउँदा सकभर दुवै जना आउन नपरोेस्, जस्तो लाग्थ्यो। भोलिपल्ट स्कुल नआउने भए, अघिल्लो दिन नै दुवै जना नआउने भनेर छलफल गथ्र्यौ। तर, घरमा के बहाना बनाउने ? कुनै बहाना नपाएपछि रुझेको बिरालो जस्तै भएर स्कुल जान पथ्र्यो।
अँ, साँच्चि,
म पोस्ट्कार्डको कुरा गर्दैैै थिएँ।
त्यो दिन किस्ने स्कुल नआएको मौका छोपेर उसले मलाई पोस्ट्कार्ड दिई। हरेक वर्ष दसैं बिदा हुनुअघि यसरी पोस्ट्कार्ड दिने चलन थियो, स्कुलमा। प्राय: केटा–केटा, केटी–केटी बीचमा नै पोस्ट्कार्ड आदानप्रदान हुन्थ्यो। केटाकेटीबीच कमै सेयर हुन्थ्यो। प्राय: केटाहरुले केटीको पोस्ट्कार्ड पाए पनि मैले अझैसम्म पोस्टकार्ड पाएको थिइनँ।
ऊ हातमा पोस्ट्कार्ड थमाएर गई। यता मेरो मुटुको गति ह्वात्तै बढ्यो। कसैले देख्न त देखेन भनेर निकै आत्तिएँ। लोसे भएर बसिरहेको थिएँ। एक्कासी हावा भरिएको बेलुन जस्तै टाइट भएँ। हतार–हतार पोस्ट्कार्ड सर्टभित्र लुकाएँ।
कस्तो–कस्तो भएर आयो। पोस्ट्कार्ड हेर्न मन लागि रहेको थियो। कसैले देख्ला किन भनेर हेर्न सकिनँँ। झोलामा लगेर लुकाउनु पर्यो भनेर क्लासभित्र छिरेँ। ऊ म भन्दा पहिले नै पुगिसकेको थिई। मलाई देखेर फिस्स हाँसी। म पनि हाँसे। बेन्चमा पुगेर हतार–हतार म्याथ विषयको किताबको पानाभित्र पोस्ट्कार्ड लुकाएँ।
०००
पोस्ट्कार्डमा के लेखेकी होली ?
कति बेला छुट्टी हुन्छ र घर पुगेर हेरौंला जस्तो भईरहेको थियो। अझै तीन पिरियड त पढ्नै बाँकी थियो। हाफ टाइम सकिएको घण्टी लाग्न अझैं पाँच मिनेट जति बाँकी थियो। क्लास बंक गरेर घरतिर कुदौंं जस्तो पनि लाग्यो। फेरि, पहिलो चोटी पोस्ट्कार्ड हात लागेको छ। के सोच्लि भनेर पनि पैताला अघि बढेनन्।
४ नबज्दासम्म हुट्हुटिई रहें।
०००
४ बजेको घण्टी लाग्ने बित्तिकै सबैलाई उछिनेर म घरतिर कुदेँ। बाटोमा पछि फर्केर कसैलाई हेरिनँ। कतिबेला घर पुगेर पोस्टकार्ड हेरौंला झै भईरहेको थियो।
स्कुलदेखि घरसम्म पुग्न १ घण्टा लाग्थ्यो। १ घण्टाको बाटो १४ मिनेटमै काटे छु। ४ बजेर १५ मिनेट हुँदा घरमै पुगेछु। घरमा दिदी मात्रै हुनुहुँदो रैछ। स्कुलबाट चाँडै आएको देखेर दिदीले भागेर आए जस्तो लागेछ। मैले पूरा क्लास पढेर आएको हो, भनेँ।
कोठामा गएर हतार–हतार पोस्ट्कार्ड निकालेँ। अगाडि फूलको चित्र थियो। पछिल्तिर राम्रा अक्षरमा दसैंको शुभकामना लेखिएको थियो। मैले पाँच चोटीसम्म दोहोर्याएर पोस्ट्कार्ड पढें। म यसै हावामा उडें झै भईरहेको थिएँ। जतनसाथ पोस्टकार्डलाई किताबको पाना बिचमा लुकाएँ।
०००
उसले त पोस्ट्कार्ड दिई। अब दिने पालो मेरो थियो।
भोलिपल्ट घरमा आमासँग पैसा मागें। अरु दिन भन्दा अलि पहिलै स्कुल निस्किएँ। त्यो दिन पनि बाटोमा कसैले कुरिनँ। एक्लै एक घण्टा लामो बाटो नापें।
स्टेशनरीमा पुगेर पोस्ट्कार्ड किनें। पोस्ट्कार्ड किनेर क्लासतिरै लागें। क्लासमा पुगेर मैले पनि शुभकामना लेखेर उसलाई दिनु थियो। मैले पनि सक्दो राम्रा अक्षर बनाएर पोस्ट्कार्डको पछाडिपट्टी शुभकामना लेखें। लेखिसकेपछि दोहोर्याएर पढें। यत्तिको लेखेपछि त पक्कै उसलाई राम्रो लाग्ला भन्ने लागि रहेको थियो।
पोस्ट्कार्ड खल्तिमा हालेर ढोकानेर उसलाई कुरेर बसें। आउने बित्तिकै उसलाई जसरी भए पनि दिन्छु भनेर सोचि रहेको थिएँ।
०००
कुर्दा–कुर्दा १० बजेको घण्टी बज्ने बेला हुन लागि सक्यो। तर, ऊ आइनँ। १० बज्न जम्मा १० मिनेट बाँकी थियो। क्लासक लगभग सबै जसो आइसकेका थिए। हिजो बिदामा बसेको किस्ने पनि आज आएको थियो। अरुबेला किस्ने भनेपछि हुरुक्कै हुने, म। किनकिन आँखा उसैलाई मात्र खोजिरहेका थिएँ।
किस्नले हात मिलाएर ब्याग राख्न गयो। अरु बेला भएको भए ऊ सँगै भित्र छिर्थे। यता मलाई पोस्ट्कार्ड दिनु थियो। म बाहिरै बसें।
०००
घण्टी बज्यो। सबै जना लाइन लाग्न ग्राउन्डतिर लाग्यौं। तर, ऊ आइन। मन खिन्न भयो। स्कुलमा फिटिक्कै मन बसेन। निन्याउरो अनुहार लगाएर लाइन लाग्न गयौं।
किस्नेले के–के भनि रहेको थियो। उसका कुरामा कत्ति पनि वास्ता भएन। मैले हो मा हो मात्रै मिलाई रहें। आँखाले अझैं पनि उसकै बाटो हेरिरहेका थिए।
०००
एसेम्ली सकेर सबै जना क्लासभित्र छिरिसकेका थिए। क्लासभित्र बसे पनि मन भने बाहिर थियो। गेटतिर हेरिरहेको थिएँ। कतै आई पो हाल्छे कि जस्तो लागि रहेको थियो।
पहिलो घण्टीको क्लास सुरु भयो। हाजिरी सकियो। सरले पढाउन सुरु गरें। तैं पनि ऊ आई हाल्छे कि जस्तो लागि रहेको थियो। सरले पढाउँदा पढाउँदै बिचमा आउछे कि जस्तो लागि रहेको थियो। किनभने आउँदा आउँदै ढिला भै हाल्यो भने कोही बेला अलि ढिला गरेर पनि स्कुल आउने गर्थे साथीहरु।
०००
त्यो दिन पोस्ट्कार्ड दिन पाइनँ। छट्पटीमै बित्यो। आज नभए के र भोलिपल्ट दिन पाइहाल्छ नि भनेर आफैंलाइ सम्झाएँ।
भोलिपल्ट पनि अलि चाँडै स्कुल गएर उसलाई पोस्ट्कार्ड दिउला भनेर सोचिरहेको थिएँ। कोठामा एक्लै पोस्ट्कार्ड हेरेर रमाएँ। उसलाई दिन भनेर रातो गुलाबको फोटो भएको पोस्टकार्ड किनेको थिएँ। दुई वटै पोस्ट्कार्डलाई सँगै राखेर दाँजें। पोस्ट्कार्डको ठाउँमा ऊ र मलाई मात्रै राखेर दाँजे।
धत्, यस्तो त कसरी हुन्छ।
मलाई सपना देखे जस्तो लाग्यो। म अब एक्लै रमाउन थाल्ने भएको थिएँ।
०००
भोलिपल्ट पनि ऊ आइनँ। किताबको बिचमा पोस्ट्कार्ड यत्तिकै रह्यो। कतिबेला आउछे र दिउँला भनेको ऊ आइनँ। त्यो दिन पनि रित्तै हात फर्किएँ।
भोलि–भोलि भन्दा भन्दै ऊ लगातार ५ दिन एप्सेन्ट (अनुपस्थित) भइसकेकी थिई। म यता छटपटीई रहेको थियो।
पाँचौ दिनमा ऊ आई। परैबाट उसलाई देख्ने बित्तिकै मलाई करेन्ट लागे जस्तो भयो। दुगुर्दै क्लासमा गएर पोस्ट्कार्ड झिकेर उसलाई दिउँ जस्तो लागि रहेको थियो। एक्लै भएको भए त दिन्थे होला किस्ने पनि सँगै थियो। मैले आँट गर्न सकिनँ। पछि एक्लै भएको बेलामा सुटुक्क दिउँला भन्ने लाग्यो।
०००
त्यो दिन उसलाई पोस्ट्कार्ड दिन सकिनँ। दिन सकिनँ भन्दा पनि त्यस्तो मौका नै जुरेन। ऊ हामी बसेको भन्दा पल्लो साइडको अलि अघिल्लो बेन्चमा थिई। बेलाबेला मुन्टो घुमाउथी। दुवैका आँखा जुँध्थे। उसले नजर झुकाउथी। त्यसपछि ब्ल्याकबोर्डतिरै हेर्थी।
क्लासमा हुञ्जेल त आँखा जुँधाएर मन शान्त हुन्थ्यो। घरमा आएपछि कहिले स्कुल जाउँ जस्तो हुन्थ्यो। पढाईमा फिटिक्कै मन बसेको थिएन। पोस्ट्कार्ड बोकेर हिँडेको पनि दई हप्तै हुन लागेको थियो। तर, उसलाई दिन सकिनँ।
कैले के कैले के मौकै मिलिरहेको थिएन। किस्नेलाई ट्वाइलेटमा एक्लै छोडेर त्यही मौकामा दिन्छु भनेर पनि आँटें। त्यतिबेला ऊ साथीहरुसँग भै दिन्थी। अझ सरले भेटाए त राम्रै चुटाई भेटिन्थ्यो। डरै डरमा म्याथ किताबको पन्ना बिचमै त्यो पोस्टकार्ड बसिरह्यो।
०००
जम्काभेट हुँदा पनि उसलाई पोस्ट्कार्ड दिन सकिनँ। न ऊ बोल्न सक्थी। न म नै। दुवै जना हेराहेर मै सिमित रह्यौं। बोले स्कुलभरि हल्ला चल्ला भन्ने डर। नभनौं त मनमनै भुट्भुटिएर कतिञ्जेल बस्नु !