भनिन्छ– प्रेम वसन्त बहार हो। प्रेम गर्न कै लागि कुनै खास दिन चाहिँदैन। यो त हरेक दिन, पल–पल नदीजस्तै कल–कल बगिरहन्छ। प्रेम उर्जाशील जीवनको अमृत पनि हो।
हरेक वर्ष ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस दैलोमा छिर्दा मनमा प्रश्न उठ्छ– फेब्रुअरीको दोस्रो साताले मात्रै प्रेम पलाउँछ र? एकैदिनको चुलबुले मायाले संसार थाम्छ?
रहस्यवादी गुरू ओशोले एकताका भनेका छन्– प्रायः मानिसहरू आकर्षणलाई प्रेम ठान्छन्। जब माया–प्रेम भित्रबाट आउँने रहस्यमय कुरा हो। बाह्य संवादसँग प्रेम निर्भर हुँदैन। प्रेमलाई देख्न सकिँदैन। छाम्न सकिँदैन। तर महसुस गर्न सकिन्छ। प्रेमले संसार डुबेको हुन्छ, जहाँ एकअर्काले मायाको अपेक्षा मनभरी संगालेका हुन्छन्।
प्रायःजसो मानिसहरू ‘प्रेम’ र ‘आकर्षण’ बीचको भिन्नता नै बुझ्दैनन्। शहर–बजारमा रमाइरहेका, बाँचिरहेका वा दुःख–सुखसँग जुधिरहेका महिला वा पुरुष जताततै भेटिन्छन् वा देखिन्छन्। तब सुरूमै केटाकेटीबीच देखादेख मै कुनै एक कुराले आकर्षित गर्छ। जसका कारण तपाईं–हाम्रो मस्तिष्कको एक भाग सक्रिय भइहाल्छ। लगतै आनन्द वा प्रेरणाको अनुभूति हुन्छ।
एकै नजरमा कसैलाई कोहि असाध्यै मनपर्छ। तब उनीहरू ‘आकर्षणको सागर’मा डुब्न थाल्छन्। प्रेमीहरूको आफ्नै संसार छ। पर्दाको प्रेमभन्दा बाटो–दोबाटो वा चोक–गल्लीको प्रेम भिन्नै र रोचक छ। कसैलाई पहिलोपटक देख्छौँ– भावनात्मक रूपमा उसँग जोडिन्छौँ। मन, मुटु हल्लिएको, सल्वलाएको महसुस गर्छौ।
आफ्नो अवस्था जेसुकै भएपनि ‘आकर्षण’मा मोहित भएको मान्छे सधैं खुसी, आनन्दित रहोस् भन्ने चाहन्छौँ– यो केटाकेटीहरूको ‘प्रेम बजार’ हिँड्ने पहिलो संकेत हो।
प्रायःजसो उमेर पुगेका वा छिपिएका केटाकेटीहरू एकअर्काको सुन्दरता देखेर प्रेममा पर्छन्। तर विस्तारै समय बितेपछि तिनीहरूबीच दूरी घट्न थाल्छ। यसले हामीलाई ‘आकर्षण’ र ‘साँचो प्रेम’बीचको भिन्नता बुझाउँछ।
मनोविश्लेषकहरूको भनाइ छ– माया वा आकर्षण यस्तो सम्बन्धलाई भित्री रूपमा हेर्नैपर्छ। किनभने, प्रेमले पर्खन सक्छ तर आकर्षण छिट्टै केहि न केहि पाउन आतुर हुन्छ।
सधैं सकारात्मकता प्रदान गर्नु नै प्रेमको विशेषता हो। कहिलेकाहीँ प्रेमको बाटोमा नकारात्मकता पनि देखापर्छ। मायाले कोहि कसैको मन टुट्छ। उ नकारात्मकतामा बर्बराउँन थाल्छ।
साँचो प्रेम गर्दागर्दै टुटेको दिल, फुटेको मुटु र छुटेको माया फेरि जोड्न सम्भव नै छैन। संसार स्वार्थी छ। त्यसैले सोचेर वा भोगेर गरिने चोखो प्रेम नै जीवन्त राजमार्गमा फैलिनेछ। तर क्षणिक ‘आकर्षण’मा अल्झिएर मन साटासाट गर्नेहरूले दुःख भोग्नेछन्। त्यहाँ एकले साँचो माया गरेपनि अर्को चाहिँ ‘आकर्षण’मा झुम्मिएको नहोस्। यदि त्यसो भइहाल्यो भने वास्तविक मायामा डुब्ने पात्र शोकमा बस्नेछ। ‘डिप्रेसन’ मा जानेछ।
जीवनको बगैँचामा मायाको गुलाब फुलाएर सुगन्ध फैलाओस् भनेर ‘दाता’ले धर्तीमा माया सुम्पेको छ। प्रेम वैवाहिक सम्बन्ध जोड्ने अर्को विन्दु पनि हो। मायाको अद्भुत सागरमा डुब्नेहरूले मन–मस्तिष्कबाट सोच्न जरुरी छ। आकर्षण वा प्रेम के–मा लोभिएको छ? किनकि प्रेम स्थायी अनुभूति मात्रै हो।
बाँचिरहेको संसार त्यागेर स्वर्ग झरेपछि फर्किन गाह्रो छ। प्रेम रमाइलो गर्ने खेल मैदान होइन। महत्वपूर्ण जिम्मेवारी पनि हो। जसलाई फ्याँक्न सकिँदैन। मायामा केही पाउने चाहना हुनुहुँदैन। मायामा केही दिने भावना हुनुपर्छ। प्रेमले व्यक्तिको गुण बढाउँछ। माया आँखाले होइन दिमागले देख्छ। त्यसैले हरेक दिन प्रेम दिवस हुनुपर्छ– एकदिन मात्रै होइन।