काठमाडौंका मेयरको ‘गफ’: कहाँ हरायाे मोनोरेल ?

Breaknlinks
Breaknlinks

काठमाडौँ उपत्याकाकाे यातायात व्यवस्थापनकाे लागि माेनाेरेल सञ्चालन गर्ने कुरा नयाँ हाेइन्। करिब पाँच वर्षअघि सम्पन्न स्थानीय तहकाे निर्वाचनमा यही सपना देखाएर मेयर विद्यासुन्दर शाक्यले चुनाव जितेका थिए। तर, काठमाडाैँमा माेनाेरेल चलाउने कुरा सपनामै सिमित बन्याे।

मेयर शाक्यले चुनावी घाेषणापत्रमा उल्लेख गरेकाे उक्त कुरा महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्‍याे।

संघीय राजधानी काठमाडौँलाई व्यवस्थापन गर्न भन्दै पटक–पटक मोनो रेल संचालनको कुरा उठ्ने गरेको छ। त्यसो त रेल संचालन मात्र होइन काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना पनि नबनेकाे हाेइन। तर, कार्यान्वयनका लागि भने प्रारम्भीक काम समेत हुन सकेको छैन।

काठमाडौँ महानगरले काठमाडौँ उपत्यकामा रेल संचालनको तयारी नगरेको भने होइन। काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न काठमाडौं महानगरपालिका र चाइना रेलवे कम्पनी लिमिटेड (सीसीआरसी), ब्युरो– २५० बीच २०७५ पुस ४ गते नै समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

रेल सञ्चालनका लागि त्यसको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) समेत चाइना रेलवे कम्पनी लिमिटेडले नै गरेको थियो। तर, त्यसपछिको काम भने अघि बढेन। काठमाडौँ उपत्यकाका मेयरले त आफ्नो घोषणापत्रमै काठमाडौमा रेल संचालनको प्रतिवद्धता जाहेर गरेर थिए। तर, उनको कार्यकाल सकिनै लाग्दा समेत रेल संचालन त परै जाहाेस् प्रारम्भीक कामले समेत गति लिन सकेको छैन।

महानगरले रेल संचालनका लागि पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि महाराजगञ्जसम्म र तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्म काम गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको थियो। तर, लागत व्यवस्थापन तथा चक्रपथ विस्तार आयोजनाका कारण रेल संचालनको कामले गति लिन नसकेको महानगरले जनाएको छ।

‘हामीले काठमाडाैँमा माेनाेरेल सञ्चालनकाे लागि प्रयास नगरेकाे हाेइन तर हाम्राे बजेटले नसक्ने भएपछि उक्त परियाेना स्थगित भएकाे छ,’ काठमाडाैँ महानगरपालिका सह–प्रवक्ता महेश कुमार काफ्लेले भने। 

उनका अनुसार उपत्याकामा माेनाेरेल सञ्चालनकाे १ खर्ब १६ अर्ब लागत लाग्ने परियोजना प्रतिवेदनमा उल्लेख छ। 

नेताहरुले विभिन्न ठाउँमा भाषण गर्दा अन्य देशको उदाहरण दिँदै उपत्यकामा रेल संचालनको कुरा उठाउने गरेको भए पनि संचालन खर्च, प्राविधिक पक्षका विषयमा भने उनीहरु जानकार छैनन्। अध्ययन र अनुसन्धान विना बाेल्दा मेयर शाक्य पनि जनता माझ चुकेका छन्।

त्यसैले राजनीतिक भाषणबाजी भन्दा पनि उपत्यकामा रेल संचालन गर्न कति उपयुक्त छ, त्यसका लागि कति खर्च लाग्छ, खर्चको व्यवस्थापन कसरी गर्ने भन्ने महत्वपूर्ण पक्ष हो। काठमाडौँ उपत्याकालाई व्यवस्थित बनाउने हो भने यस्ता कुरामा ध्यान दिएर योजना बनाउनुपर्ने विज्ञहरुको धारणा छ। अन्यथा हावामा बाेल्दा आफूनै हावा बनिन्छ भन्ने उदाहरण बनेका छन्, जनप्रतिनिधिहरू।

प्रकाशित मिति: : 2022-02-11 20:00:00

प्रतिकृया दिनुहोस्