‘सिक्ने हो त भाञ्जा ?’ हिजो जस्तै लाग्छ रोशन सुनुवारलाई, मामाले यसो भनेको। अहिले सम्झिँदा अनौठो पनि लाग्छ। भर्खर एसएलसीको तयारी गर्दै गरेका रोशनले कहिल्यै सोचेका थिएनन्, कुनै दिन ‘प्यारापाइलट’ बनुँला भन्ने। उनै रोशन सुनुवार जो पोखराको आकाशमा उडिरहेका हुन्छन्।
‘मामाले सिक्ने हो त भाञ्जा भनेर भन्नुभयो। सिक्न पाए त मज्जा हुन्थ्यो होला जस्तो पनि लाग्यो। अनि, हुन्छ मामा म सिक्छु भनें। सिक्नको लागि मसँग जानुपर्छ। काम जे पनि गर्नुपर्छ भनेर भन्नुभयो। एक वर्ष काम गरेपछि मैले प्याराग्लाइडिङ सिकाइदिन्छु भनेर भन्नुभयो,’ पुराना दिन सम्झिँदै उनले भने, ‘मैले पनि हुन्छ, जे पनि गर्छु भनेर सिकियो। प्यारापाइलट नै बन्छु भन्ने थिएन।’
तपाईंले सुन्नुभएकै होला, सानो बाबु सुनुवार। प्याराग्लाइडिङमा रुचि राख्नेहरुको लागि यो त्यति धेरै नौलो नाम भने होइन। बाबु एड्भेन्चर्सका सञ्चालक सानो बाबु सुनुवार रोशनका मामा हुन्। हो, उनै सानो बाबुको पछि लागेर सिन्धुलीको डुडभञ्ज्याङदेखि आएका रोशन अहिले पोखराका उम्दा प्यारापाइलटमध्येका एक हुन्। ‘लगभग ४ वर्ष हुन आँट्यो म प्यारापाइलट बनेको पनि,’ रोशनले सुनाए।
मामाको एउटा शब्दले रोशनलाई प्यारापाइलट बन्ने बाटोमा डोहोर्यायो। थुप्रै अप्ठ्यारा झेले। मामाले सुरुमै भनिसकेका थिए, ‘काम जे पनि गर्नुपर्छ। प्याग्लाइडिङ म सिकाउँछु।’
मामाको स्कुलमा गेष्ट पनि आइरहने, प्याराग्लाइडिङ कोर्स सिक्ने विद्यार्थीहरु पनि। उनीहरुले खाएका भाँडा माझ्नेदेखि खाना पनि बनाउनु पर्थ्याे। त्यहाँ गारो लगाउनेदेखि दाउरा काट्ने, कोदाली लगाउने। नगरेको कुनै काम बाँकी रहेन रोशनले गर्नलाई। ‘मामाले एक वर्ष काम गरेपछि मैले सिकाइदिन्छु भन्नुभएको थियो, सिकाउनु भयो,’ उनले सुनाए।
दुखपछि सुखका दिन आउँछन् नै। रोशनका पनि दिन आए। एक वर्षपछि सोलो पाइलट भए। उनलाई रमाइलो लाग्यो। ‘अब त म पनि आकाशमा उड्छु,’ रोशनले मनमनै भनेका थिए रे !
कहिलेकाहीँ उड्दाउड्दै पनि ल्याण्ड गर्नुपर्ने हुन सक्छ। हावाको भरमा उड्ने हो, कुनै भर नै हुँदैन। उड्दाउड्दै कतै गएर हावा नमिले झर्नुपर्छ। पैसा भए पनि खाने ठाउँ नहुन सक्छ। गाडी नपाइन सक्छ। २०/३० किलोको झोला बोकेर हिंड्नुपर्छ। यस्तो बेलामा मष्तिस्कले पनि कसरी काम गरोस्?
‘कहिलेकाहीँ दुखको पनि मज्जा हुँदो रैछ। त्यत्रो आकाशमा उड्दा यत्रो बाटो त हिंडिन्छ जस्तो पनि लाग्ने। नयाँ गाउँमा पुग्दा यो झोलामा के हो भनेर सोध्नु हुन्थ्यो, रोशन सम्झिन्छन्, ‘कस्तो खुसी लाग्थ्यो। म यो हो, यस्तो मान्छे भन्दा एकदमै खुसी लाग्छ।’
स्याङ्जाको स्वरेक मैदानबाट उडान सुरु गरेका रोशन अहिले पोखरामा छन्। ४ वर्ष भइसकेछ उनले आकाशमा उडान सुरु गरेको पनि।
सोलो उडान हुँदै टेन्डम, एसआइबि र हाइफ्लाइ गर्न पोखरा आएका रोशनको दैनिकी आजकाल आकाशतिरै बित्छ। दिनमा दुई वटा उडान भर्छन्, रोशन।
पोखरामा हल्ला छ- बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ बन्द हुन्छ रे !
हुन पनि केही समय अघि वैकल्पिक उडानको सम्भाव्यताको खोजी हुँदै थियो। ‘इन्टरनेशनल एयरपोर्ट बनेपछि बन्दा हुन्छ-हुन्न भन्ने हल्ला पनि छ। के हुने हो भन्ने जस्तो लाग्छ। बन्द नभए राम्रै हुन्थ्यो,’ उनले भने।
अहिले त रोशनका बुबाआमा पनि खुसी छन्। बुबाआमालाई उडाउनुभयो त ? भनेर सोध्दा उनले भने, ‘अहिलेसम्म त उडाएको छैन। यहाँ आउनुभयो भने उडाउँछु।’