सुत्केरीलाई सास्ती: बर्थिङ सेन्टर छ, स्वास्थ्य सामग्री छैन

Breaknlinks
फोटो: स्वास्थ्यकर्मी राधा गिरी

२०७४ मा स्थानीय तहको निर्वाचन भएपछि घर घरमा सिंहदरबार त पुग्यो। तर, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीकी २६ वर्षीया सीता सामलको लागि भने घर नजिक आइपुगेको सिंहदरबारको कुनै काम आएन।

बरु, सुरक्षित सुत्केरी हुन नसकेर झण्डै मृत्यु भएन। आइतबार राति १० बजे सुत्केरी व्यथा लागेकी सीताले रातको ११ बजे बज्जा त जन्माइन्। तर, साल अड्कीएर मृत्युसँग पौठेजोरी खेल्नु पर्‍यो। घर नजिकैको बर्थिङ सेन्टरमा सुत्केरी हुन आवश्यक स्वास्थ्य सामाग्री नहुँदै कसो अकालमै ज्यान गुमाउनु परेन।

प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले हेलिकप्टरमार्फत उद्दार गरेर उनको ज्यान त बच्यो। अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ। वडामा रहेको बर्थिङ सेन्टरमा आवश्यक उपकरण नभएको र सरकारले तोकेअनुसार एसबिएको सर्टिफिकेट लिएको अनमी नै नभएपछि परिवारले झण्डै उनलाई गुमाउनु परेको थियो।

‘उहाँहरुको घरदेखि तीन घण्टाको दुरिमा रहेको दगातुन्डाँडाको स्वास्थ्य चौकी छ। परिवारले वडा नम्बर ३ मै रहेको बर्थिङ सेन्टरमा सम्पर्क गरेको थियो। पालिकाभित्रका केहीस्थानमा मोबाइल नेटवर्क नटिप्ने समस्या,’ दगान्तुडाँडा स्वास्थ्यचौकीमा कार्यरत स्वास्वास्थ्यकर्मी राधा गिरीले भनिन्, ‘हिमपात भइरहेको थियो। कसैसँग सम्पकै नभएपछि सुत्केरीलाई घरमै छोडेर लगभग बिहानको साढे चार बजे पैदलयात्रा गरेर परिवारका सदस्य वडा नम्बर १ मा पर्ने दगातुन्डाँडा स्वास्थ्यचौकीमा आउनुभएको थियो।’

स्वास्थ्यचौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मी राधा गिरी र दीपक थापा पैदलयात्रा गरेर बिहान ६ बजे मात्रै सुत्केरी भएको ठाउँमा पुगे। करिब ६ बजे सुत्केरी कहाँ पुग्दा उनी अचेत अवस्थामा लडिरहेको स्वास्थ्यकर्मी राधाले सुनाइन्।

‘त्यही राखिराख्नु थप खतरनाक हुन जान्थ्यो सुत्केरीका लागि। नेटवर्कमा भएको समस्याका कारण बाहिरबाट सहयोग माग्न सक्ने अवस्था पनि थिएन। १० मिनेट हिँडेर डाँडामा उक्लेपछि अलिअलि नेटवर्क आउछ,’ उनले भनिन्, ‘माथि डाँडामा आएर बुर्तिबाङ अस्पतालमा सम्पर्क गर्दै डाक्टरसँग परामर्श लिदै सुत्केरीलाई हेरचाह गरिरह्यौं।’

जिल्ला अस्पताल बुर्तिबाङमा पनि गम्भीर खालका बिरामीलाई उपचार गर्न सक्ने अवस्थामा छैन। उनलाई हेलिकप्टरमार्फत उद्दार गरेर मणिपाल शिक्षण अस्पतालमा ल्याइयो। अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको उपचारमा सहभागी स्वास्थ्यकर्मीले जनाएका छन्।

समयमै उद्दार पाएर सीताको ज्यान त बच्यो। तर, ग्रामीण भेगका सुत्केरीले आँखैअघि मृत्यु सामना गर्नुपरेका अन्य थुप्रो उदाहरण पनि वडा नम्बर १ मा कार्यरत स्वास्थ्यकर्मी राधाले देखिकी छन्।

‘स्थानीय सकेसम्म घरमानै बच्चा जन्माउन खोज्छन्। वडा र पालिकाबाट पनि स्वास्थ्य प्रजनन सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा अघि बढाएको छैन,’ उनले सुनाइन्।

स्वास्थ्यचौकी आउनुपर्ने भन्ने त्यति ज्ञान नै समुदायमा नरहेको उनको भनाई छ। स्वास्थ्यकर्मी कहाँ लैजानुभन्दा आगोले सेकेर सुत्केरी गराउन सजिलो हुने जनविश्वास रहेको उनी बताउँछिन्।

‘आजको घटना पनि सुरुआतमा परिवारले घरमानै सुत्केरी गराउन खोज्दा यस्तो भएको हो,’ उनले भनिन्।

महिना दिनअघि पनि सुत्केरीको स्वास्थ्य सम्बन्धी पालिकामा यस्तै घटना भएको उनले सुनाइन्। जनचेतना नभएका कारण परिवारले अस्पताल लैजान ढिला गर्दा आमाको ज्यान बचे पनि बच्चा गुमाउनु परेको उनले बताइन्। ग्रामीण भेगमा उसै पनि स्वास्थ्य उपकरण नहुँदा यस्तो भयावह अवस्था दोहोरिरहन्छ। स्वास्थ्यकर्मीले सक्दो प्रयास गरिरहँदा पनि कहिलेकाहीँ विफल हुन पुग्छ।

वडा नम्बर ३ का वडाध्यक्ष खड्गबहादुर पुनले वडामा आवश्यक स्वास्थय उपकरण जुटाउन नसकेको स्वीकार्छन्। ‘उपकरण छैन हामी सेवा सुविधायुक्त स्वास्थ्य चौकी संचालनमा ल्याउदै छौं,’ उनले भने। पाका स्वास्थ्यकर्मीलाई ल्याएर वडामा स्वास्थय सेवा सहज बनाउन आफूहरु लागि रहेको उनले बताए।

प्रकाशित मिति: : 2022-02-08 08:33:00

प्रतिकृया दिनुहोस्