क्यानडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

Arthur Mola/Invision/AP

क्यानडाको राजधानी सहरका मेयरले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा त्यहाँ आपत्काल घोषणा गरेका छन्।

ओटावाका मेयर जीम वाट्सनले 'सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको' बताए।

'फ्रिडम कन्भोई' भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो। क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा 'असंवेदनशील व्यवहार' गरेको बताए।

प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई 'पार्टीजस्तो गरेको' आरोप लगाए। उनले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा 'लडाई हारिरहेको' बीबीसीले जनाएकाे छ।

वाट्सनले भने, 'यो समाधान हुनुपर्छ। हामीले हाम्रो शहर पुरानै स्वरूपमा ल्याउनुपर्छ।' एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको बताएका छन्। 

ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्। मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्।

तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ।

प्रकाशित मिति: : 2022-02-07 08:10:00

प्रतिकृया दिनुहोस्