नेपालमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो। नेपालमा भइरहेको कुल रोजगारीको ६४.४० प्रतिशत रोजगारी कृषि क्षेत्रले प्रदान गरेको तथ्यांकले देखाउँछ। रोजगारी मात्रै नभएर अर्थतन्त्रमा २७.६५ प्रतिशत योगदान यसकाे रहेकाे छ।
पछिल्लो समय थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने र स्वरोजगार मात्रै नभई केहीलाई रोजगारी समेत दिन सकिने भएकाले युवाको कृषिमा आकर्षण बढ्दो छ।
कोभिड–१९ को प्रभावसँगै भइरहेको रोजगारीसमेत गुमाउन पुगेपछि युवाहरु कृषिमा आकर्षित हुने क्रम बढ्दाे छ। कतिपय युवा सरकारी एवम् गैरसरकारी जागिर छोडेर कृषिमा लागिरहेका छन्। यही लयमा छन्, ललितपुरका विकास माली।
उनी राम्रैसँग चलिरहेकाे आफ्नाे पत्रकारिता पेसा छाेडेर कालिज पालनमा लागेका छन्। गाेदावरी नगरपालिका– १२ थेचुमा उनले कालिज पालन व्यावसाय गरिरहेका छन्। कृषि क्षेत्रमा केही गर्नुपर्छ भनेर उनीसँग कम्मर कसेर लागेका छन्, साेही ठाउँका विक्रम माली।
विकास र विक्रम छिमेकी हुन्। यी दुई मिलेर 'माली एग्राे एण्ड वाइल्डलाइफ प्राेडक्ट' चलाइरहेका छन्। जसमार्फत उनीहरूले कालिज पाल्न थालेकाे करिब डेढ वर्ष भयाे। याे अवधिमा उनीहरूले राम्राे आम्दानी गरिसकेका छन्।
पैसाको लागि अर्काको देशमा गएर मिहिनेत खेर फाल्ने युवाका लागि उदाहरण बनेका छन्, उनीहरू। उनीहरुले अब आफ्नै फर्ममा अण्डा उत्पादन गरेर चल्ला बेच्ने योजना गरेका छन्।
‘स्वदेशमा रोजगारी नपाएको भन्दै युवा विदेशतिर होमिएका हुन्छन्। यस्तो अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हाे,’ विकासले भने,‘गरे नेपालमै सम्मभव छ विदेशमा पसिना बगाउनुभन्दा नेपालमै केही गर्न अनुरोध गर्छु।’
उनीहरुले कालिज व्यवसाय सुरु गर्नुअघि विभिन्न ठाउँबाट तालिम लिएका थिए। उनीहरुले कालिज व्यवसाय सम्बन्धी थप ज्ञान युट्युबर्माफत् पनि लिएका थिए। विभिन्न स्थानमा कालिज पालन गरेको देखेपछि उनीहरूले ललितपुरमा व्यवसाय गर्ने योजना बनाए। त्यहाँका व्यवसायीसँग परामर्श लिए। अनि उनीहरुले नजिककाे एक जना दाइसँग रिङ्गग्रेट इटालियन प्रजातिका ६०० चल्ला किनेर ललितपुरको थेचुमा कालिज पालन सुरुवात गरेका हुन्।
अहिले उक्त फर्ममा डेढ सय भन्दा बढी कालिज छन्। उनीहरुले कालिज सँगै टर्की र लोकल कुखुरा पनि पालेका छन्। उनीहरुले उत्पादन गरेको अण्डा र कालिज कहाँ लगेर बेच्ने उनीहरुलाई कुनै चिन्ता छैन्। उपभोक्त्ता आफैं फर्मसम्म आएर छानेर कालिज किन्ने गरेकाे विक्रमले बताए।
उनी भन्छन्,‘उहाँहरु फर्मसम्म आउनुहुन्छ, छानेरै लैजानुहुन्छ। यही खानेलाई हामी आफैंले बनाएर दिने पनि गरेका छौँ। यहाँ बार्विक्यु गरेर खाने व्यवस्था पनि छ। उनीहरुले एक किलो ४ सय ४५ ग्राम सम्मको कालिज बेचिसकेका छन्। उनीहरुले कालिजलाई लोकल मकै, गहुँ अनि तरकारीका पातहरु खुवाएर पाल्ने गरेका छन्। ‘एकदमै लोकल दाना डिएर हुर्काएका छौँ,’ उनीहरूले भने।
उनीहरूले कालिजलाई चार हजारदेखि ४५ सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन्। अहिले कालिजको बजार राम्रो रहेको पनि उनीहरु बताउँछन्। उक्त फर्ममा कालिज बाहेक लोकल कुखुरा, टर्की पनि पालेका छन्।
लगानी कति ?
झण्डै ३० वर्ष आसपासका यी दुई युवाले सुरुमा ललितपुरकोको थेचुमा भाँडामा जग्गा मिलाए। झण्डै ६ रोपनी जग्गामा कालिज व्यवसाय सुरु गर्न पाँच लाख रुपैयाँ लगानी गरेको फार्मका व्यवस्थापक विक्रम मालीले बताए।
‘विकास र मैले सुरुमा पाँच लाख जम्मा गर्याैँ अनि हामीले व्यवसाय सुरु गर्यौँ। सुरुमा सामान्य लागेको थियो धेरै खर्च लाग्दैन सोचेका थियौं तर तार, बार, जाली, चल्ला, दाना पानी गर्दै जाँदा हामीले सोचेको भन्दा त्रिपल बढी लगानी गरिसकेकाछौँ। अहिलेसम्म हामीले १५ लाखभन्दा बढी लगानी गरिसकेका छौँ,’ विक्रमले भने।
उनीहरूले २०७६ को अन्त्यतिर कालिजको लागि फर्म बनाउन सरु गरेका थिए। फर्म पूर्णरुपमा बनिसकेपछि वि.स. २०७६ असारदेखि कालिज पालन सुरू गरेका हुन्।
तरकारी खेती छाेडेर कालिज पालन
विकास लकडाउन हुनु केही समय अघिसम्म पत्रकारिता गर्दै थिए। लामो समय सञ्चार कर्ममा रहेको माली लकडाउन भएसँगै रोजगार विहिन भए। रोजगार विहिन भएपछि विकासले कृषिमा केही गर्छु भनेर विक्रमसँग सरसल्लाह गरे। अनि उनीहरु दुईले सुरु गरे कालिज व्यवसाय। अहिले यी दुई कृषिमा जमेका छन्। उनीहरुले कालिज व्यवसाय गर्नुअघि तरकारी खेती पनि गरेका थिए। तरकारी खेतीबाट राम्रो मुनाफा कमाउन नसकेपछि उनीहरु दुईले कालिज व्यवसाय सुरु गरेका हुन्। अहिले उनीहरु आफ्नो कामसँग निक्कै सन्तुष्ट छन्। उनीहरु भन्छन्,'आफूले चाहेको व्यवसाय गरेका छौँ। एकदमै खुशी छौँ। स्वत्रन्त्र भएर काम गर्न सकिन्छ।'
‘अहिले फर्ममै आएर उपभोक्ताले उनीहरुले चाहेको कालिज छानेर लग्छन् उनीहरुको चाहनाअनुसार नै कालिज छानेर दिन पाउँदा झन् आनन्द मिल्दोरहेछ। मनमा छुट्टै खालको आनन्द मिल्दो रहेछ,' विकासले भने।
वास्तविक किसान अझै पीडित छन्
नेपाल सरकारले किसानका लागि अनुदान, सहुलितमा ऋण जस्ता कार्यक्रम ल्याएकोमा खुशी थिए, विकास। त्यसपछि उनी आफैँ सहुलियतमा ऋण लिएर कृषि कर्म गर्ने योजना बनाएर कालिज व्यवसाय गर्ने सोंचेका थिए। तर, जब उनले कालिज व्यवसाय सुरु गरे, तब उनलाई थाहा भयो कि सरकारी कार्यक्रमहरु वास्तविक किसानका लागि होइन रहेछन्।
आजसम्म पनि उनीहरुले सहुलियतमा ऋण पाएका छैनन्। अनुदानको त झन आशा नै छैन। विभिन्न विधामा रिर्पोटिङको क्रममा धेरै स्थान पुगेका विकासलाई कृषि कर्जा पाइन्छ कि भन्ने झिनो आशा थियो। तर, उनको आशा पनि हराइसकेको छ।
'म आफैँ पत्रकारिता गरेको मान्छे, केही हदसम्म सरकारी कुराहरु थाहा छ। मैले नै अझै अनुदान पाउन सकोको छैन,' उनले भने,'जो १२ महिना कृषिमा पसिना बगाइरहेका छन् उनीहरुले केबल पसिना मात्र बगाइरहेका छन्। नेपालमा अनुदान पाउने त जो बोल्न सक्छ, जसले पावर लगाउन सकिन्छ उनीहरुले मात्र अनुदान पाउँछन्।'