विपन्नका ‘भाग्य विधाता’ : पुन दम्पतीको अक्षयकोषले गरीबलाई डाक्टर, इन्जिनीयर बनाउँदै

लोकान्तर

प्रकाश आचार्य

बुटवलका खेम पुन औषधिका थोक बिक्रेता हुन्। खेम र उनकी पत्नी ओमी व्यवसायसँगै दीनदुःखीको उपकारमा पनि रमाउने गर्छन्।

परोपकारी पुन दम्पती विपन्न बालबालिकाका लागि सच्चा अभिभावक बनेका छन्। पवित्र भावका साथ उनीहरूले खेम ओमी पुन कल्याणकारी प्रतिष्ठान गठन गरी १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

त्यहीँ कोषबाट पुन दम्पतीले आर्थिक अभावले पढाइबाट टाढिने अवस्थामा पुगेका बालबालिकालाई पढाएर डाक्टर बनाएका छन्। प्रतिष्ठानले हालसम्म २५ बालबालिकालाई सहयोग गरिसकेको छ। जसमध्ये ४ जना छात्रछात्रा एमबीबीएस पूरा गरिसकेर एमडी गर्दैछन्।

इन्जिनीयर, कानून, बीडीए, बी फार्मेसी हुँदै २५ जनाले कोषको रकमबाट पढ्दै आइरहेका छन्। कोषबाट पढेका जेहेन्दार र विपन्न विद्यार्थीले पुन दम्पतीलाई ‘भाग्य विधाता’ भन्छन्।

आफ्नो ५१ औं जन्मदिनको अवसर पारेर पुनले २०७० मंसिर १७ गते १७ लाख रुपैयाँबाट शुरू गरेको प्रतिष्ठानमा १ करोड रुपैयाँ जम्मा भइसकेको छ। कोष स्थापनापछि प्रत्येक वर्ष पुनले जन्मदिनको अवसरमा १०/१० लाख रुपैयाँ थप्दै १ करोड पुर्‍याए। पुनले आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक क्षेत्रमा खचिँदै आएका छन्। शिक्षामा पुनका पाइला साँच्चै मनकारी छन्। 

प्रकाशित मिति: : 2022-02-05 15:30:00

प्रतिकृया दिनुहोस्