त्यस बखत एउटा गाउँ जिउँदो–जाग्दो थियो। आफैँले उब्जाएका अन्न, सागपात खान्थ्यो। मेला, पर्म, छिमेकी थिए। थिए आफ्नै माटोबाट उब्जिएका चाडपर्वको रौनक।
त्यो गाउँ अहिले मरिरहेछ। र, छ अधमरो।
म काँठ भन्दिनँ, गाउँ भन्छु। काँठ शब्द त मैले धेरै पछि सुनेको हुँ। काँठे होइन, म आफूलाई पाखे सम्झिन्थेँ, अलग्गै दुनियाँको।
लेले गाउँ सहर र दक्षिण ललितपुरको बीचमा छ। दक्षिण ललितपुर महापाखो हो, जसलाई देख्दा मलाई रिँगटा छुट्छ। त्यत्तिकै रिँगटा छुट्छ सहर र सहरका अभिमानले हुप्प फुलेका मानिस देख्दा।