पुसको कठ्याङ्ग्रिँदो चिसो । आँगनमा सल्काइएको मुडा । वरिपरि बसेर उनीहरू आगोको रापबाट चिसो छल्दै थिए । तर, कान सेक्न आइपुग्थ्यो बर्दिया राष्ट्रिय निकुञ्जको घना जंगलाबाट चिसो सिरेटो ।
‘नमस्कार सर/म्याम,’ एकै ध्वनिमा उनीहरूले पाहुनालाई स्वागत गरे । आफू बसेका कुर्सी पाहुनाका लागि अगाडि सारे । बारबर्दिया नगरपालिका-११ बेलभारस्थित बाल संरक्षण केन्द्रमा थिए, २१ जना कलिला बालबालिका । उनीहरू सबैको कथा व्यथा लगभग उस्तै छ । त्यसैले त एउटै आँगनमा ल्याइपुर्यायो उनीहरूलाई ।
त्यहीमध्येका एक हुन् कक्षा ६ मा अध्ययनरत सुदिप चौधरी । तीन महिनाअघि उनी संरक्षण केन्द्रमा आइपुगेका हुन् । सानैमा उनले आमाको काख गुमाए । ‘आमा बित्दा १३ महिनाको थिएँ रे । आमाको केही पनि याद छैन तर याद आउँछ,’ उनले आमालाई सम्झिए । आमा बितेपछि उनको रेखदेख बुबाले गर्दै आएका थिए । उनको सबै थोक बुबा थिए । तर, बुबाले पनि गत बर्खामा सधैँका लागि उनलाई छोडेर अस्ताए ।