समाजमा सबैले प्रशंसा गर्ने कुरा यो छ कि ‘ती फलानाका सन्तान हुन तिनीहरूले भनेको सबैले मान्नुपर्छ।’ मान्छे विकाउने एउटा कारखाना भनेको पारिवारिक पृष्ठभूमि बनेकाे छ। तर त्यो गाँजिएको सामन्तवादी कुसंस्कार, बुर्जुवा समाजमा छुट्टै खाले प्रवाह राख्दछ।
फूल समथर चक्लाबन्दी फाँटहरुमा मात्र फुल्दैन, चट्टानमा पनि फुल्छ। यो विज्ञान सम्मत कुरा हो। एउटा भेडी गुवालाका सन्तान हाे। जाे ती पञ्चायती गाउँले छोटे सामन्तीबाट सबै रोजीरोटी, पुर्ख्याैली जग्गा जमिन कब्जा गरेर हेपुवा पाराले जिन्दगी गुजार्दै आएका थिए। जसका कारण हिउँद महिनामा औल भनिने सुर्खेतका माथिल्ला भूभाग र दैलेखका भूभागमा जग्ना जाकेर नुन र बेसायाको जिन्दगीसँग गुजारा गरिरहेका थिए।
भारतका काला पहाडमा पसिना चुहाएर दैनिक गुजारा चलाएका, समाजका निच दृष्टिकोणमा जीवन चलाएका सन्तान के त्यो जिन्दगीभन्दा बेगर आफ्नो वर्गीय मुक्तिको लागि, हक र अधिकारको लागि लड्न साहस गर्छन्? गर्न त सक्छन् तर समाजमा स्थापित हुनको लागि। ‘फलानाको सन्तान’ जतिकै स्थान पाउनको लागि।
सामन्तवादी समाजमा धेरै कठिन हुन्छ, विभिन्न किसिमबाट समाजका कुतत्वले जालझेल र षड्यन्त्र गरेर निष्क्रिय पार्न खोज्छन्। ती चम्मे मानसिकताका समाजका प्रदूषणकारी जीवहरुले त्यसबाट विचलित नभएर सबैखाले हन्डर र चुनौतीको सामना गर्दै अगाडि बढ्छ, भेडी गुवालाका छोराको राजनीति।
‘उतिबेला निरंकुश राजतन्त्रसहितको संसदीय व्यवस्थाको अन्त्य गरौं, नयाँ जनवादी व्यवस्था स्थापना गरौं’ भन्ने नाराले देशमा दश वर्षसम्म निकै तहल्का पिट्यो। वर्गीय मुक्ति आन्दोलनमा लागेका कैयौं ती सर्वहारा, श्रमजीवी वर्गका छोराछोरी, कैयौं भेडा चराउन छोडेर लागेका ती भेडी गुवालाका छोराछोरीले लडेका युद्ध मोर्चाभित्र गाउँ घरका इलाका प्रवेश भएका ती चैते सामन्तीका छोराछोरीलाई विश्वास मानेर पुनः हेपाई पाएका भेडी गुवालाका सन्तान २०५८ सालपछि स्थान लिएको ढोका खुल्ला, झ्याल बन्दको प्रवृत्ति हो।
त्यसभन्दा अगाडि सातोपुत्लाे गएको ती छोटे महाराजका सन्तानहरुको जीवनचक्र २०६४ सालपछि बदलामा मिचुवा परेका, इतिहासदेखि ढुङ्गा र माटोसँग लडिबुडी गरेर अगाडि बडेको भेडी गुवालाका सन्तानको जीवनचक्र मुक्तिको खुसियाली मनाउने ती सपना सबै प्रतिक्रान्तिको हावाहुरीले उडाएर लियो।
एउटा गाउँले उखान छ, ‘पुर्खेउली नछाड्ने, अग्रेली नखाने’। त्यतिबेलाका समाजका कमजोर मान्छेलाई दास जस्तै हेप्ने,चेप्ने संस्कारबाट प्रशिक्षित भएका सामन्तवादी चरित्रका अंकुशे जुकाहरुले माओवादी आधार इलाकाभित्र विभिन्न बहानामा प्रवेश गरेर नव क्रान्तिकारी बनेर माओवादी विचार सिद्धान्तलाई फोहोरीको संज्ञा दिएर शान्ति प्रक्रियापछि अन्य पार्टीका श्रीपेच लगाएर अहिले गाउँघरमा जघन्य आपराधिक क्रियाकलापमा संलग्न छन्।
अभिजात वर्गको इतिहासको मैन टाल्ने भ्रष्टाचारीहरु त्यस्तो खाले लुटतन्त्रको विपक्षमा उभिँदै आएको भेडी गुवालाका छोराको राजनीति एकलकाटे हिसाबमा आफ्नो वर्ग पक्षधरताको बुलन्द आवाजको विगुल फुक्दै वर्ग संघर्षको मैदानमा अवरात्र अगाडि बढाइरहेको छ।
गाउँका छोटे संसदीय दलभित्रका ठालुतन्त्रबाट अगाडि बढेका समाजका कसिङ्गर नामथरी नेताका ती काला कर्तुत, समाजमा आउने विकासी योजनाको भागबण्डा लगाएर आफ्नो लुटको साम्राज्य जमाएकाहरुको अति हैकमवादका विरुद्धमा निकाल्छ भेडी गुवालाका छोराले वर्गीय मुक्तिको निसानी संगैको सहिदहरुका रातो रगतले लतपतिएको रातो झण्डा गुथिरहेको छ।
निधारमा कपन राष्ट्रिय स्वाधीनताको पक्षमा उभिरहन्छ जहिले पनि। दिनरात झेल्छ प्रतिबन्धका ती दिनहरु। आफ्ना भन्नेहरूको कतैबाट डटेर सामना गर्न अगाडि बढ्छ, भेडी गुवालाको छोरा। सामाजिक फासीवादी सरकारका विरुद्धमा लुकामारी खेल्छ।
डाँडापाखामा क्रान्ति-क्रान्ति भन्दै कहिले पुग्छ तराई, माथिका महाभारत र चुरेमा। कहिले पुक्छ हिमालका चुचुरोहरुमा। पारिवारिक, गाउँले इखले अगाडि बढेको भेडी गुवालाको छोरा आफ्नो वर्गको एउटै मात्र दुश्मन देख्छ दलाल पूँजीवाद। बदल्नु पर्ने संज्ञा बाँड्छ, सामन्तीहरुले प्रयोग गरिरहेको नायकहरु।
पलायन भएर शिरोधार गरेको असफल दलाल पूँजीवादी संसदीय व्यवस्था। अब भेडी गुवालाका छोराको एउटै मात्र सपना छ, उक्त व्यवस्थाका विपक्षमा उभिएर जहिले पनि अग्रपंक्तिले देखाएको विचार, दृष्टिकोण, वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्त गर्नु। आफ्नो वर्गका पुस्तालाई राजनीति संस्कारबाट पोख्त र धारिलो छुरा बनाउनु भेडी गुवालाका छोराको राजनीति हो।
सरकारी नुनपानी खाएका शासकबाट निर्देशित आफ्नै वर्गका पादरीहरुले भेडी गुवालाका छोरालाई हत्कडी लगाउने प्रयत्न असफल हुँदैछ। विनाकुनै कसुर समाज भाँडेकाे खाेक्राे आराेपमा पुलिस प्रशासन लगाएर समाउन खाेजिन्छ।
भेडी गुवालाका छाेराकाे आँखा अगाडि आउँछ, त्यो घोडे महादेवको घटना। काला काङ्ग्रेसी गुण्डाहरुबाट बचाउन सफल ती आफ्ना सहयात्रीलाई। बेलाबेला कोशिस गरियो थन्क्याएर राख्न। कालो कष्टडीमा थन्क्याएर राख्न हरेक लोभलालच देखाएर पलायन बनाउन खोजे प्रतिक्रियावादीहरुले। राज्यले उसको आस्थाको केन्द्रलाई प्रतिबन्ध लगाएको समय अवधिभर अहिले पनि दस्तावेजिकरण भएको छ।
घरबाट ३ जना पादरीले लिएर जाँदा गाउँकै बिच बाटोबाट फुत्किएका ती पल चकित पारेर सबैको मन जित्न सफल भएको थियो। भेडी गुवालाका छोरा आफ्नो नैसर्गिक अधिकार प्राप्त गर्न परीक्षा केन्द्रमा नै अनियमित शुल्कको एकल पक्षमा उभिएको थियो। भेडी गुवालाको छोरा सुराकीकै कारणबाट कलिलो उमेरमा झुटा मुद्दामा हत्कडी लगाइएर कष्टडीमा थुनिनु परेकाे थियाे।
कम्युनिष्ट र क्रान्तिकारी बन्छु भन्ने विचार र सिद्धान्तमा उभिँदा सहजै सामना गरेर अगाडि बढिरहेको छ र बढ्ने छ। अन्तसम्म सपना साकार पार्न कसैले रोक्न सक्दैन।
पक्कै खुसी भएका थिए त्यो दिनमा उसले राजनीति नगरोस् भन्न चाहानेहरु। हिरासतका दिनहरू राम्रैसंग बिताउँदै गइरहेको थियो त्यसभित्र भेडी गुवालाका छोराले। बाघचालधारी चेस प्रवृत्तिको छट्टु खाले बुद्धिको विकास भएको थियो। नयाँ साथीहरू भेटाएको थियो। उनीहरु पनि विभिन्न मुद्दा मामिलामा भित्र आएका थिए। राजनीति आग्रहपूर्वाग्रहले पनि भित्र पसेका ती पत्रकार, ती आन्दोलनकारी। त्यसैभित्र थियो भेडी गुवालाका छोराको पनि बास। अँह, आएनन् उसलाई भेट्न आफ्ना भन्नेहरु किन? थाहा छ उनीहरुकाे राजनीतिक चेत थिएन।
हिरासत सुध्रिने र बिग्रिने थलो रहेछ भनेर स्मरण भएको थियो। उसको मानसपटलमा आयाे कैयौं त्यो तिहारको वरिपरि, लागूऔषधको मुद्दा र केही ज्यान मारेको उद्योगमा भित्र आएका थिए। आफ्नै पक्षधरमा गाभेका थिए ती अन्याय र अत्याचार सहन नसकेर प्रतिरोध गरेर भित्र पसेका दुई पत्रकार। अनि त्यसैभित्र थिए भेडी गुवालाका छोराका दुई वटा झुटा मुद्दा। न्यायलयमा आफ्नो कडा यथार्थ झल्काएर बाहिर निस्किएको थियोे। पिंजडामा थन्क्याएर राख्न खोजेको राजनीति दस्तावेजलाई धारिलो हतियार बनाएर निस्केको थियो।
उसले बुझेको के थियो भने जब सामूहिक समस्या हल हुन्छन्, तब व्यक्तिगत समस्या हल हुन्छन्। कलिलो उमेरमा घरपरिवार छोडर क्रान्तिको मैदानमा लगातार अगाडि बढिरहँदा भेडी गुवालाका छोरालाई जन्मजात अन्याय अत्याचार त मन पर्दैन थियो। झन अहिले स्वीकार्य हुने कुरा नै भएन।
कमिसनखोरी, भ्रष्टाचारी, पार्टी संगठनभित्र भएका कुतत्वको विरुद्ध जहिले पनि उभिएर निषेध पार्न पछि परेको थिएन। उ पार्टीमाथि जथाभावी हिसाबमा दुनियाँलाई भ्रमित पार्ने गलत तत्वको सामाना गर्न जहिले पनि अग्रसर नै थियो। उ देश, जिल्ला गाउँमा भएको अन्याय, अत्याचार, विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा उभिरहेको छ।
सामन्तका सन्तानले जाँड, रक्सी, चुरोट सुर्ती खान सिके। उसले राजनीति सिक्न चाह्याे। राजनीतिलाई सेवाको रुपमा लैजानुपर्छ भन्ने विचार बाेक्याे। आफ्ना अनपढ भेडी गुवाला आमाबुबाको चाहना पनि त्यही हो, आफ्नो छोराले राजनीति गरोस्। आफ्नो वर्गलाई मुक्ति गर्नेखाले राजनीति गरोस्।
आमाबुबाबाट सिकेको अर्ती उपदेश आत्मसात गरेर अगाडि उ बढिरहेको छ। ठुलाठुला स्वार्थ केही छैनन्। उसकाे एउटा मात्र स्वार्थ- आउने पुस्तालाई राजनीति संस्कार र संस्कृतिको बारेमा प्रशिक्षित गरेर अन्तसम्म आफ्नो वर्ग पक्षधरताको लडाइँमा अगाडि बढेर विजय हासिल गर्ने।
लेखक नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्चार्ज हुन्।