प्रशासनकाे धज्जी उढाउँदै टाेपबहादुर रायमाझी, भीड बटुलेर गाउँ–गाउँमा कार्यक्रम

कमल प्रभात

काठमाडौं
फाेटाे:सामाजिक सञ्जालबाट

काेराेना संक्रमणकाे जाेखिम बढेसँगै गृह मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला भएर कुनै कार्यक्रम नगर्न निर्देशन दिएकाे छ।

गृहको निर्देशानुसार जिल्ला प्रशासनले जारी गरेको आदेशमा पनि अत्यावश्यक कार्यक्रम गर्नुपर्ने भए २५ जनाभन्दा कम, त्यसमा पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने भनिएको छ।

तर, पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टाेपबहादुर रायमाझीले गृह र प्रशासनकाे निर्देशन उल्लङ्घन गरेर गृहजिल्ला अर्घाखाँचीका गाउँ–गाउँमा पार्टी प्रवेशका कार्यक्रम गर्दै हिँडिरहेका छन्।

नेता रायमाझीले शनिबार मात्रै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका– ३ धारापानीमा पार्टी प्रवेश कार्यक्रम गरेका थिए। उनी सहभागी उक्त कार्यक्रममा करिब ३ सयभन्दा बढी मानिसहरू सहभागी रहेकाे स्थानीयले बताएका छन्। जहाँ उनीहरुले स्वास्थ्य मापदण्डकाे कुनै पालना गरेका थिएनन्। नेता रायमाझी आफैले समेत मास्क लगाएका थिएनन्।

कार्यक्रममा उनी सँगै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल), केन्द्रीय सदस्य तथा सहइन्चार्ज चेतनारायण आर्चाय, जिल्ला अध्यक्ष पिताम्बर भुसालकाे सहभागीता रहेकाे थियाे।

काेराेना संक्रमण बढेकाे भन्दै सरकारले आम नागरिकलाई विभिन्न गतिविधमा प्रतिबन्ध लगाएपनि पार्टीप्रतिनिधिहरूले यसरी कार्यक्रम गर्दा जिल्लामा सक्रमण फैलिने भन्दै नेता रायमाझीकाे चर्काे आलाेचना भए पनि जिल्ला प्रशासन भने मुखदर्शक बनेकाे छ।

यस विषयमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आफूहरूले कार्यक्रम नगर्न निर्देशन दिए पनि नेताहरूले त्यसकाे बेवास्ता गर्दा समस्या भएकाे बताएका छन्।

‘हामीले त सचेत गराउने हाे, त्याे गराइरहेका छाैँ। तर, पनि पार्टीका कार्यक्रम त भइरहेका छन्,’ प्रजिअ घिमिरेले भने,‘हामीले कारबाही गर्ने भन्दा पनि उहाँहरू सचेत हुनुपर्ने हाे, हामीले त यस्ताे अवस्था छ हाेइ भनेर जानकारी दिने मात्रै हाे। त्यहाँ प्रहरी पठाएर भिडन्त गराउने कुरा पनि भएन सूचना दिने र सचेत गराउने काम हामीले गरेका छाैँ।’

तर, एमाले जिल्ला अध्यक्ष पीतम्बर भुसालले भने आफूहरूले प्रशासनकाे आदेशकाे उल्लङ्घन नगरेकाे बताएका छन्। उनले २५ जनभन्दा कम मानिस सहभागी गरेर कार्यक्रम गरेर र स्वास्थ्य मापदण्डकाे पालन गरेकाे बताएका छन्। 

‘नियम उल्लङ्घन गरेर चाहिँ हाेइन हामीले स्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम गरेका हाैँ। २५ जनाभन्दा कमिकाे संख्यामा छाेटाे रूपमा कार्यक्रम गरिरहेका छाैँ,’ उनले भने, ‘पछि कसैले ग्यादरिङ गरेर फाेटाे खिचेकाे हाेला तर हामीले नियमकाे पालना गरेका छाेँ।’

उनले जिल्लामा काेराेना संक्रमणकाे अवस्था हेरेर कार्यक्रम गरेकाे बताए। तर, अरूलाई नियम सिकाउने उनी आफै मास्ककाे समेत प्रयाेग नगरी कार्यक्रममा सहभागी बनेका थिए।

यस्ताे छ जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीकाे आदेश:

प्रकाशित मिति: : 2022-01-30 18:30:00

प्रतिकृया दिनुहोस्