केही अगाडिसम्म विद्यार्थीको सिकाइ क्रियाकलापले निरन्तरता पाउने अपेक्षा गरिएकोमा अहिले ओमिक्रोन फैलिन थालेपछि सरकारले पुस अन्तिम सातादेखि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। विगत तीन वर्षको अनुभवले भरपर्दो वैकल्पिक विधि र उपायको खोजी हुनुपथ्र्यो, त्यो हुन सकेन। खालि जोखिमलाई ध्यानै नदिई देशभरका विद्यालय बन्द गर्ने अपरिपक्व निर्णयले विद्यार्थीको सिकाइ क्रियाकलापमा बाधा मात्र उत्पन्न गराएको छ। कोरोना महामारीका कारण झन्डै तीन वर्षदेखि सानो–ठूलो लकडाउनले विश्वभरका शिक्षण संस्था प्रभावित भएका छन्।
आमनागरिक निषेधाज्ञा या लकडाउन भोग्न बाध्य भए। बालबालिका विद्यालय जान पाएनन्। सर्वसाधारणमा कोभिड–१९ को आतंकै चल्यो। अझै पनि कोरोनाको त्यत्तिकै भय छ। कोभिडकै कारण वैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक सत्र असारदेखि सुरु गरियो। अहिले ओमिक्रोनका कारण फेरि पठनपाठनमा अवरोध आएको छ।
संक्रमण तीव्र गतिमा फैलिए पनि पूर्ण लकडाउनको परिस्थिति भने देखिँदैन। रेस्टुरेन्ट, होटल, पार्टी प्यालेसलगायत सबैजसो क्षेत्र खुलेकै छन्। कोराना संक्रमणबाट मृत्युदर घटे पनि यसको जोखिम भने यथावत् नै देखिन्छ। हाम्रा १८ वर्षमुनिका बालबालिकाले पहिलो चरणको खोप पाए पनि १२ वर्षमुनिका बालबालिकाका लागि खोप बनेकै छैन। त्यसैले उनीहरू थप जोखिममा छन्। जोखिमबाट बच्न मास्क लगाउने, स्यनिटाइजर प्रयोग गरिरहने, वेलावेलामा साबुनपानीले हात धोइरहने बानीलाई निरन्तरता दिनु जरुरी छ।