नेपाली कांग्रेस रोल्पाले पार्टी प्रयोजनका लागि गौरव योजनाका रुपमा सानदार भवन निर्माण गरेको छ।
तत्कालीन जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा सुरु भएको भवन निर्माण अभियानमा पार्टीका कार्यकर्ता मात्र हाेइन अन्य पार्टीमा आस्था राख्नेहरुले पनि आर्थिक सहयोग गरेर साथ दिएका थिए। तर अचम्मको कुरा त के भने यही पार्टीबाट टिकट पाएर स्थानीय चुनाव जितेका कतिपय जनप्रतिनिधिहरुले भने हालसम्म भवन निर्माणका लागि १ रुपैयाँ पनि सहयोग गरेका छैनन्।
भवन निर्माणका लागि जिल्ला कार्यसमितिले निर्णय नै गरेर आर्थिक सहयोगका लागि पटकपटक माग गर्दा पनि उनीहरुले कुनै चासो नदेखाएको कार्यालय सचिव भिम बुढाले बताए।
‘पार्टीको निर्णयअनुसार लिखित तथा मौखिम रुपमा जानकारी गराइयो’ बुढाले भने, ‘तर उहाँहरुले हालसम्म एक रुपैयाँ पनि दिनुभएको छैन।’
कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका जम्मा ६८ जना जनप्रतिनिधिमध्ये ४१ जनाले सहयोग रकम दिएपनि २७ जनाले अझै नदिएको पार्टी कार्यालयमा टाँसिएको सूचीमा उल्लेख छ।
रकम नदिनेहरुमा लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मानबहादुर खत्री, त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष लेखमणी डाँगी, लुङ्ग्री गाउँपालिका–२ का वडाध्यक्ष अमृत घर्ती, लुङ्ग्री गाउँपालिका–१ का वडाध्यक्ष मती पुनलगायत अन्य २२ जना वडा सदस्य रहेका छन्।
यस्तै पार्टीबाटै निर्वाचित अन्य ४१ जना जनप्रतिनिधिहरुले पनि सहयोग गरेका छन्। जसमध्ये सबैभन्दा धेरै सुनिलस्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
करिब एक करोड लगानीमा निर्माण भएको उक्त भवनको गत मंसिर ६ गते जिल्ला अधिवेशनको उद्घाटनकै दिन भर्चुअलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।