आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

File Photo
File Photo

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ।

अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो। किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ।

पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न समाचारमाध्यमहरुले जनाएका छन्।

किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो।

सो दूताबासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ।

अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ। त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ।

उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ। रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ।

तर पनि अघिल्लो महिना देखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यो कुरा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2022-01-24 14:09:00

प्रतिकृया दिनुहोस्