दण्डहीनताको पराकाष्ठा: १९ वर्षपछि फैसला, २७ वर्षपछि पक्राउ

न्याय क्षेत्रमा एउटा भनाई छ ‘ढिलोगरी न्याय पाउनु भनेको न्याय नपाउनु जस्तै हो।’ रोल्पामा यहि भनाई चरितार्थ भएको छ। घटना हो तत्कालीन तालाबाङ गाविसको। २०५१ सालमा भएको हत्यासम्बन्धी मुद्दाका फरार अभियुक्त २७ वर्षपछि बल्ल पक्राउ परेका छन्।

अझ अचम्मको कुरा त के छ भने उक्त मुद्दाको फैसला पनि १९ वर्षपछि मात्र भएको थियो। जबकि ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा जन्म कैदको सजायमा पनि २० वर्ष मात्र कैद भुक्तान गर्नुपर्ने हुन्छ।

घटना भएको १९ वर्षमा त अभियुक्तले सजाय भुक्तान गरिसक्नुपर्ने हुन्थ्यो। तर कैद भुक्तान गर्ने बेला बल्ल मुद्दाको फैसला भएको थियो। २०५१ भदौ २१ गते तत्कालीन तालाबाङ गाविस–७ (हाल माडी गाउँपालिका–३) खाराबाङ ल्वातेका चुन बहादुर घर्तीको हत्या भयो।

जग्गाको सिमानासम्बन्धी विवादका कारण तत्कालीन इरिवाङ गाविस–३ (हाल परिवर्तन गाउँपालिका–६) नाफेका गनबहादुर कामीले चुन बहादुरको हत्या गरे। विवाद समाधानका लागि स्थानीय कुलबहादुर घर्तीको घरमा भइरहेको छलफलका क्रममा लाठी र मुक्का प्रहार गरी गनबहादुरले चुनबहादुरको हत्या गरेका थिए।

उक्त घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत रोल्पाले २०७० बैशाख ९ गते गनबहादुरलाई जन्म कैदको फैसला सुनाएको थियो। मुद्दाको फैसला भएपनि कार्यान्वयन भने बल्ल भएको हो। घटना हुँदा पीडित चुन बहादुर ३३ वर्षका थिए भने पीडक गनबहादुर २४ वर्षका थिए।

अभियुक्त गनबहादुर कामी हाल ५१ वर्ष पुगेका छन्। बुधबार मात्र जेल चलान भएका गनबहादुर २० वर्षे कैद भुक्तान गर्दा ७१ वर्ष पुगिसकेका हुनेछन्।

राज्यको उदासिनताका कारण देशमा दण्डहिनता मौलाएको मानवअधिकार कर्मी घनश्याम आचार्यको भनाई छ। ‘नागरिकमा न्यायको आशा मर्नु हुँदैन’, आचार्यले भने ‘समाजमा जस्ले जे गरे पनि हुन्छ त।’

नागरिकको अन्तिम आशा नै न्यायालयमाथि हुने भएकाले न्यायालयले समयमै न्याय दिनुपर्छ र राज्यले पनि त्यसको तुरुन्तै कार्यान्वय गर्नुपर्ने अधिकारकर्मी आचार्यको भनाई छ।

प्रकाशित मिति: : 2022-01-22 14:18:00

प्रतिकृया दिनुहोस्