राष्ट्रियसभा सदस्य निर्वाचन: कर्णालीमा गठबन्धनकाे पल्ला भारी

Breaknlinks
Breaknlinks

माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा) सत्तारूढ गठबन्धनकाे पल्ला भारी देखिएकाे छ।

राष्ट्रियसभा निर्वाचनमा अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा छन्। तीनवटै समूहबाट एक-एक जना निर्वाचित हुनेछन्। तीनवटा समूहमा दुई-दुई जनाको उम्मेदवारी परेको छ।

महिलातर्फकाे एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरूङ, प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा (महत) ले उम्मेद्वारी दर्ता गराएका छन्।

अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन्। कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य रहेका छन्। यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख एक सय ५० जना रहेका छन्।

यिनीहरूले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने  कानूनी व्यवस्था रहेको छ। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो।

कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार सय ८० रहेको छ। प्रदेशसभाका सदस्यको एक हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार दुई हजार ७ सय रहेको छ।

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ। माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ। जसको मतभार एक हजार ५ सय १२ हुन्छ।

कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ। जसको मतभार १ हजार ८ हुन्छ।

एकीकृत समाजवादीको कर्णाली प्रदेशमा तीन जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या १३ रहेको छ। एकीकृत समाजवादीको मतभार तीन सय ७८ हुन्छ। सत्तारूढ गठबन्धनमा रहेको जसपाको सांसद र प्रमुख, उपप्रमुख कर्णाली प्रदेशमा शून्य छ।

प्रमुख प्रतिपक्षी दल एमालेको कर्णाली प्रदेशमा सांसदको संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४५ रहेको छ। यसका आधारमा एमालेको मतभार १४ सय ३४ हुन्छ। यस्तै राप्रपाको सासद संख्या १ रहेको छ। जसका मतभार ४८ हुन्छ।

कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार दुई हजार ८ सय ९८ हुन्छ। सत्तारूढ दलबाहेकका एमाले र राप्रपाका एक सांसदबीच गठबन्धन गर्दा उनीहरूको मतभार एक हजार ४ सय ८२ मात्रै हुन्छ।

राप्रपाको एक सांसदले समेत एमालेलाई समर्थन गर्दा सत्तारूढ गठबन्धनका उम्मेदवारहरू पराजित हुन सक्दैनन्। अरू प्रदेश जस्तै कर्णाली प्रदेशमा समेत सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी हुने निश्चित रहेको मतभारले देखाएकाे छ।

प्रकाशित मिति: : 2022-01-22 14:58:00

प्रतिकृया दिनुहोस्