सिटामोलमा कालोबजारी: सरकार भन्छ– सिटामोलको अभाव छैन, व्यापारी भन्छन्– २ महिनादेखि सटेज छ [भिडियाेसहित]

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

पछिल्लो समय कोरोना भाइरसकाे ‘ओमिक्रोन’ भेरियन्ट सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा काठमाडौँ उपत्यकामा सिटामोल अभाव हुन थालेको छ।

सङ्क्रमण दर बढेसंगै सिटामोललगायतका अत्यायावश्यक औषधिको कृत्रिम अभाव देखाएर व्यापारीले नागरिक ठग्न थालेका छन्।

सिटामोलको दैनिक माग बढ्दै गएका बेला व्यापारीले सिटामोल अभाव रहेको भन्दै नागरिकलाई अन्य औषधि भिडाउन थालेका छन्। कम्पनीबाट सिटामोल नआएको भन्दै पसलेहरुले किन्न गएका नागरिकलाई खालीहात फर्काउने गरेका छन्।
कम्पनीले बनाउन छाडेका कारण सिटामोलको अभाव भएको औषधि व्यवसायी सम्राटमान बिसीले बिएल नेपाली सेवालाई जानकारी दिए।

बजारमा अभाव भएको खबर पाएपछि नागरिकले चाहिनेभन्दा बढी औषधि किनेर घरमा राख्ने गरेका कारण पनि औषधि सटेज हुने गरेको उनको भनाई छ।

बजारमा चरम औषधि अभाव भइरहेको बेला सरकारले भने नागरिकलाई शान्त पार्न सिटामोल अभाव नभएको दाबी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बजारमा सिटामोललगायत अन्य कुनैपनि औषधिको अभाव नभएको दाबी गरेका छन्।

गएको बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै सहप्रवक्ता अधिकारीले औषधि अभाव नभएको प्रष्ट पारेका थिए। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारमा रहेको उनको भनाइ छ।
त्यसैगरी सरकारी फार्मेसीमा एक करोडभन्दा बढी मात्रामा सिटामोल रहेको समेत उनको दाबी थियो। तर उनले सिटामोलको अभाव छैन भनिरहेको बेला आजपनि नागरिकले औषधि पसलमा जाँदा सिटामोल नपाएर खाली हात फर्कनु परेको छ।

उता औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले सिटामोल उत्पादन गर्न नसकिने जनाएका छन्। कच्चापदार्थको मूल्य बढेको र त्यसमा राज्यले कुनै सहुलियत नदिएका कारण बजारमा माग बढेको र उत्पादन कम भएको क्षेत्रीको भनाई छ।

प्रकाशित मिति: : 2022-01-21 19:00:00

प्रतिकृया दिनुहोस्