कसरी पुग्ने कालीञ्चोक ? (फोटो फिचर)

मौसम दाहाल

काठमाडौं

दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ।
समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ। केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण यहाँ आउने सङ्ख्यामा वृद्धि भएको छ। 

कालीञ्चोकमा भगवतीको दर्शन गर्न आउनेको सङ्ख्याभन्दा हिउँ खेल्न र रमाइलो गर्न आउने धेरै हुने गरेका छन्। त्यसमध्ये पनि जोेडीसहित आउने युवायुवती बढी देखिन्छन्।

काठमाडौँबाट करिब १३८ किलोमिटरको यात्रा पछि कालीञ्चोक कुरी बजार पुगिन्छ। सो यात्रा गर्न पाँचदेखि छ घण्टासम्म लाग्ने गर्छ। भक्तपुर, काभ्रेको बनेपा, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोकको सुकुटे, खाँडीचौर, मुडे र दोलखाको खरिढुङ्गा, चोथाङ देउराली हुँदै कालीञ्चोक पुगिन्छ।
चरिकोटबाट १७ किलोमिटरको यात्रा पछि कालीञ्चोकको कुरी बजार पुग्न सकिन्छ। हिउँ परेको समयमा देउरालीसम्म मात्रै गाडी पुग्दछ। त्यसपछि पैदल वा त्यहाँको स्थानीयले सञ्चालन गरेको टायरमा चेन लगाएको बोलेरो जिपको सहायताले कुरी बजार पुग्न सकिन्छ। कुुरीबाट केबुलकारमार्फत भगवतीको मन्दिरमा पुग्न सकिने व्यवस्था पनि छ। यसको लागि नेपालीले प्रतिटिकट रु ५०० तिर्नुपर्ने हुन्छ। विद्यार्थी र ज्येष्ठ नागरिकको लागि भने २५ प्रतिशत छुट छ। कुरीबाट कालीञ्चोक मन्दिरसम्म हिँडेर जानको लागि एक घण्टाभन्दा बढी समय लाग्दछ।

प्रकाशित मिति: : 2022-01-12 06:45:00

प्रतिकृया दिनुहोस्